असार ३, २०७३- भारतको नरेन्द्र मोदी सरकारले केही अल्पका
लीन समस्याबाहेक नेपाललगायत अन्य छिमेकी मुलुकसँगको समग्र सम्बन्ध राम्रो दिशामा गइरहेको दाबी गरेको छ । भारतीय विदेश मन्त्रालयको सहआयोजनामा परराष्ट्र तथा व्यापार नीतिबारे मुम्बईमा आयोजित कार्यक्रममा विदेश राज्यमन्त्री भीके सिंहले ‘छिमेक पहिलो प्राथमिकता’ भन्ने नीतिअनुसार यस क्षेत्रका मुलुकहरूसँगको सम्बन्धमा महत्त्वपूर्ण प्रगति भइरहेको दाबी गरेका हुन् ।
नेपाललगायत निकटका छिमेकी मुलुकसँग राम्रो सम्बन्ध कायम राख्न नसकेको भन्दै भारतको चौतर्फी आलोचना भइरहेका बेला सरकारले आफ्नो छिमेक नीतिको बचाउ गरेको हो । मोदी सरकारले दुई वर्षअघि आफ्नो परराष्ट्र नीतिमा ‘नेबरहुड फस्ट’ अर्थात् छिमेकी पहिलो प्राथमिकतामा भन्ने नीतिमा जोड दिएको थियो । नेपाललगायत अन्य छिमेकी मुलुकसँग झन् सम्बन्ध बिग्रेको भन्दै विपक्षी भारतीय विपक्षी कांग्रेस आईका नेता तथा स्वतन्त्र विश्लेषकहरूले आलोचना गरिरहेका छन् । कांग्रेस आईले मोदी सरकारले नेपालसँगको सम्बन्धलाई सही रूपमा अगाडि बढाउन नसकेको भन्दै कडा आलोचना गरेको थियो ।
विदेश राज्यमन्त्री सिंहले छिमेकी मुलुकसँग दुईपक्षीय छलफल, कनेक्टिभिटी तथा दुईपक्षीय आर्थिक सहयोग आदानप्रदान भइरहेको बताए । ‘हाम्रो परराष्ट्र नीतिको पहिलो प्राथमिकता भनेका हाम्रा छिमेकी हुन्,’ उनले भने । उनले भारतको सुरक्षा र समृद्धिको विषय छिमेकी मुलुकहरूसँग सम्बन्धित रहेको पनि उल्लेख गरे ।
विश्लेषकहरूले भने नेपालमा लगाएको नाकाबन्दी तथा पाकिस्तानसँग बिग्रँदो सम्बन्धका कारण मोदी सरकारको यो नीति त्यति सफल भएको नदेखिने बताएका छन् । राज्यमन्त्री सिंहले आफ्नो सरकारको छिमेक नीति छलफल, ननरेसिप्रोकल तथा उपलब्धिमूलक भएको समेत दाबी गरेका छन् ।
उनले छिमेकसँगको नीतिको आधार भने आफ्नो सुरक्षा चासो रहेको बताए । नेपालसँग रहेको असमझदारीप्रति लक्षित गर्दै उनले केही अस्थायी समस्याहरूलाई हल गरिनेसमेत बताए । सिंहले भारत सरकारको मन्त्र भनेको कनेक्टिभिटीको माध्यमले सामूहिक समृद्धि खोज्नु रहेको समेत बताएका छन् ।
भारतलाई एउटा विश्वको शक्ति राष्ट्रका रूपमा प्रस्तुत गर्दै राज्यमन्त्री सिंहले नजिकका छिमेकी मुलुकहरूलाई आफूले संकटको समयमा सुरक्षा प्रदान गरेको समेत बताएका छन् । उनले यस क्षेत्रमा आइपर्ने प्राकृतिक प्रकोप तथा अन्य संकटकालका लागि भारतले आफूलाई तम्तयार रूपमा राख्ने गरेको समेत बताए ।
उनले भूकम्पको समयमा भारतले नेपाललाई गरेको सहयोगको सम्बन्धमा समेत आफ्नो मन्तव्यमा चर्चा गरेका थिए । यस अगाडि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले अमेरिकी संसद्लाई सम्बोधन गर्दै नेपालमा भूकम्प आउँदा भारतले सबभन्दा पहिला रेस्पोन्स गरेको बताएका थिए । उनले माल्दिभ्समा आइपरेको पानीको संकट तथा श्रीलंकामा आएको पहिरोमा समेत आफ्नो देशले सहयोग गरेको बताएका छन् । उनले दुई देशीय सम्बन्धमात्र नभई क्षेत्रीय सम्बन्धलाई समेत अगाडि बढाउन चाहेको बताए ।
भारतीय विदेश राज्यमन्त्री सिंहले भारत सार्कको फ्रेमवर्कमा काम गर्न तयार रहेको बताउँदै खासगरी बंगलादेश, भुटान, भारत र नेपालको बीचमा सहकार्य अगाडि बढाउन खुला रहेको समेत उल्लेख गरे ।
साभारः कान्तिपूर अनलाइन



Prawash Kumar Shakya । ३ असार २०७३, शुक्रबार १७:१७ बजे