पौष २९, (रास्कोट) कालीकोट ।
कालीकोट जिल्लाको रास्कोट नगरपालिका–५ गौतुकोटको २ सय, २२ रोपनी जग्गामा १५ शैयाको सामुदायिक डिजिटल अस्पाताल निर्माण हुने भएको छ । शनिबार मात्रै कर्णाली प्रदेश सरकारका आन्तरिक मामिला तथा कानूनमन्त्री नरेश भण्डारी, नगरप्रमुख काशीचन्द्र बराल, अभियन्ता रवि लामिछाने र अस्पताल निर्माण समितिका अध्यक्ष तुलाराज सिम्खाडाले संयुक्त रुपमा अस्पाताल निर्माण अभियानको घोषणा गरेपछि अस्पताल निर्माण हुने पक्का भएको हो ।
घोषणा कार्यक्रममा कर्णाली प्रदेशका कानूनमन्त्री भण्डारीले ३६ वर्ष मात्र आयु भएका कर्णालीका नागरिकको पीडा र आँसुबाट कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको स्थापना भई सेवा प्रवाह गरिरहेको जानकारी दिँदै मन्त्री रास्कोटमा स्थापना हुने सो अस्पतालका लागि प्रतिष्ठानले जनशक्ति उपलब्ध गर्ने मन्त्री भण्डारीले आश्वासन समेत दिनुभयो । अस्पताल निर्माणका लागि प्रदेश सरकारले आवश्यक सहयोग गर्ने पनि मन्त्रीले प्रतिबद्धता गरे ।
कार्यक्रममा अभियन्ता लामीछानेले यार्सागुम्बा बेच्ने तर सिटामोलका लागि तड्पिने कर्णालीवासीको स्वास्थ्य अवस्थालाई मध्यनजर गरेर अस्पताल निर्माण अभियानमा आफू पनि लागि परेको बताउनुभयो ।
नगर प्रमुख बरालले करिब १० करोड लागतमा अस्पताल निर्माण गरिने त्यसका लागि स्थानीय सरकारले ३० लाख रकम सहयोग गर्ने बताउँदै अस्पतालबाट करिब ७५ हजार सेवाग्राहीहरुले सेवा पाउने जानकारी दिनुभयो ।
Milan Shrestha । २९ पुष २०७५, आईतवार १३:१८ बजे