भिमाद नगरपालिकाको प्राथमिकता कृषि आधुनिकीकरणः प्रमुख थापा मगर


हुम तमु

२९ पौष, पोखरा । भिमाद नगरपालिकाका प्रमुख मेखबहादुर थापामगरले नगरपालिकालाई कृषि आधुनिकीकरण गर्नका लागि विशेष जोड दिने बताउनुभएको छ। भिमाद वडा नं. ५ मिछुर्लुङमा नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) द्वारा आयोजित स्थानीय सरकार र आदिवासी जनजाति विषयक अन्तरक्रिया कार्यक्रममा उहाँले भिमाद नगरपालिकाको समृद्धिका आधार भनेकै कृषिमा आधुनिकीकरण, यान्त्रिकरण, व्यवसायिकरण नै भएकोमा जोड दिनुभएको हो ।

कृषिलाई व्यवसायिकरण गर्दै विदेशी भुमिमा पन्ध्र बीस हजारका लागि धाउने युवालाई गाँउमै परिवारसँगै रम्दै स्वरोजगार र व्यवसायी बनाउन नगरपालिकाले जोड दिइरहेको उहाँको भनाई थियो । नगरपालिका भित्रका फाँटहरु, गाँउका उर्बर भुमिहरु अब बाँझो बस्नु हुदैन कृषि समुह गठन गरी व्यवसायिक कृषिमा प्रोत्साहनका लागि अनुदानको व्यवस्था गरिएको नगरपालिका प्रमुखले बताउनुहुदै स्वरोजगार र आर्यआर्जनका लागि प्याज, लसुन, अदुवा, अकबरे खुर्सानी, सागपात र पशुपालन तर्फ विशेष प्रोत्साहन गरिरहेको बताउनुभयो ।

किसानका लागि हाते ट्याक्टर, थ्रेसर नगरपालिकाले सहयोग गर्दै आएको बताउनुृहुदै उहाँले एक वर्षमा १० करोड सुन्तला बिक्री हुने भएकाले र दुग्ध उत्पादनलाई प्रोत्साहनका लागि चिस्यान केन्द्रहरु निर्माण गर्ने योजना रहेको अन्तरक्रिया कार्यक्रममा बताउनुभयो । भिमाद नगरपालिकाको विकासका लागि पर्यटन प्रवर्धन र आदिवासी जनजातिका मौलिक सँस्कृतिहरु संरक्षण र विकासका लागि विशेष पहल गरिने प्रमुख थापाले बताउनुभयो ।

पर्यटन प्रवर्धनकै लागि रघु गाँउ र मिछुर्लुङलाई होमस्टे गाँउ घोषणा गरिएको, इलुङ झरना, घाँटु, नचरी, सुनिमाया, सालैजो, नेवार सँस्कृतिलाई प्रोत्साहन गरिरहेकोले पत्रकारहरुको सहयोग समेत उहाँले अपेक्षा गर्नुभयो।  ३७ हजार ५ सय मध्ये २१ हजार मगरहरुको बसोवास रहेको भिमाद नगरपालिकामा संघ संस्थाको सहकार्यमा मगर भाषा पाठशाला दिगो रुपमा सञ्चालन गर्ने योजना रहेको प्रमुखले बताउनुभयो ।

पहिचान गुमनाम, थाकथलोको ऐतिहासिकताको लोक भईरहेकाले मौलिक सँस्कृतिक र पहिचान संरक्षण एवम विकासका लागि इच्छाशक्ति सहित आफुहरु क्रियाशील रहेको उहाँको भनाई थियो ।

नगर विकासका लागि नगरभित्रका सबै सडक कालोपत्रे बनाउने अभियान शुरु गरिएको, नगरलाई विधुतिकरणमा जोड, वडा नं. ७, ८, ९ भानुमतिमा पीच बाटो निर्माण भईरहेको, २ र १ मा मोटर मार्ग, अरुणोदयमा ६ करोडको लागतमा सडक निर्माण, मिछुर्लुङ जाने सडकमा करिब १० करोड, मिछुर्लुङमा लिफ्टिङ्गद्वारा खानेपानीका लागि ४० लाख रुपैयाको बजेटको कार्यक्रमहरु भईरहेको जानकारी दिनुभयो ।

इच्छाशक्ति भए पनि अझै केन्द्रीकृत शासन व्यवस्था नै कायम रहेकाले ऐन कानुनको समस्या र श्रोत साधनको अभावले समस्या रहेको उहाँको दुखेसो थियो । संघीयता भनिए पनि अझै व्यवहारमा संघीयताका अधिकार उपयोग गर्न नपाउने मात्रै होइन, एकतात्मकताले थिचीरहेको बताउनुभयो ।

अन्तरक्रिया कार्यक्रममा नगरपालिकाकी उपप्रमुख एवम न्यायिक समितिकी शारदा खनालले बैदेशिक रोजगारीकै कारण लोग्ने स्वास्नीको सम्बन्ध विच्छेदका समस्याहरु आइरहेकाले कृषिलाई व्यवसायिकरण गर्न सके गाँउमै आयआर्जन भई पारिवारिक विचलनको घटनाहरुमा कमी आउने आफ्नो ठम्याईरहेको बताउनुभयो । दिदिवहिनी व्यवसायी बनुन, युवा विदेश पलायन रोक्नका लागि आफुहरु लागि परेको उहाँको भनाई थियो ।

उक्त कार्यक्रममा मिछुर्लुङ सामुदायिक होमस्टे समितिका अध्यक्ष नरेन्द्र थापाले मिछुर्लुङ गाँउ र होमस्टेको बारेमा जानकारी दिनुभएको थियो । ६४ घर रहेको मगर गाँउ मिछुर्लुङमा १४ घरमा होमस्टे शुरु भएको बताउनुहुदै २०७१ साल भाद्र महिनादेखि शुरु भएको होमस्टे २०७५ पुस १६ गते मात्र नगरपालिकामा विधिवत दर्ता गरिएको बताउनुभयो ।

नगरपालिकाले रघु र मिछुर्लुङ गाँउलाई आर्थिक वर्ष २०७४/०७५ मा होम स्टे गाँउ घोषणा गरी प्रोत्साहन पछि दर्ता प्रक्रियामा गएको उहाको भनाई थियो । मिछुर्लुङ होम स्टे गाँउमा मगर सँस्कृति, ढुङढुङे पहरो अवलोकन र आँटी छाप झरनामा क्यानोनिङमा रम्न पाउने बताउनुहुदै नेपालैभरका आदिवासी जनजाति पत्रकारहरुको ऐतिहासिक कार्यक्रमले मिछुर्लुङ होम स्टेको प्रवद्र्धनका लागि महत्वपुर्ण योगदान पुग्ने भन्दै आयोजकलाई धन्यवाद समेत व्यक्त गर्नुभएको थियो ।

अन्तरक्रिया कार्यक्रमका लागि फोनिज तनँहुले व्यवस्थापन र नगरपालिकाले सहयोग गरेको फोनिज प्रदेश इञ्चार्ज हुमबहादुर गुरुङले जानकारी दिनुभयो।