फलसंगै सुन्तलाका वोटहरु सुकेपछि किसानहरु चिन्तित



रमेश कुमार वली
सल्यान २९ पुस । जिल्लाकै सुन्तलाको पकेट क्षेत्र घोषणा गरिएको स्थानहरुमा सुन्तलाका वोटहरु सुक्न थालेपछि किसानहरु चिन्तित हुन थालेका छन् । व्यवसायिक रुपमै सुन्तला खेति गरिरहेका वागचौर नगरपालिका ८ कोटमौलाका किसानहरुका सुन्तला वगैचामा वोटहरु सुक्न थालेपछि चिन्तित भएका हुन् ।

सुन्तलाका बोट र फलहरुमा धमाधम रोग र ढुसिको संक्रमण फैलिएर सुन्तलाका वोटहरु किसानहरु समस्यामा परेका हुन् । समुन्द्री सतहदेखि १ हजार १ सय मिटर सम्मका सवै बोटहरुमा रोगले सताएको वागचौर नगरपालिका८ डाँगीगाउका किसान प्रकाश डाँगीले भन्नुभयोे अहिले त १ हजार ७ सय उचाई सम्मका सुन्तलाका बोटहरुमा यो रोग फैलिएको छ ।

सुन्तलामा बोक्रा कुहिने देखि रुख सुक्ने समस्याहरु देखिएको वागचौर नगरपालिाका ८ का सुन्तला उत्पादक किसान अङ्गेश्वर डाँगीले भन्नुभयोे “तर अहिले सम्म कहि कतैबाट पनि सहयोग पाइएको छैन । रोगकिराको नियन्त्रणमा सरोकारवालाहरुको ध्यान पुगन नसकेमा ठुलो समस्या आउन थालेको छ ।” उहाँले बताउनुभयो ।

सुन्तलामा क्याङकर भाइरसका कारण रुखमै वोक्रा कुहिने समस्या देखिएको वागचौर नगरपालिकाका कृषि शाखा प्रमुख हनुमान प्रसाद यादवले बताउनुभयो । सिक्टासिला भाइरसको कारणले ग्रिनिङ्ग रोगको समस्या देखिएको हुन सक्ने यादवले वताउनु भयो । “ राम्रो उत्पादन दिइरहेका सुन्तलाका बोटहरुमा पातहरु पहेँलो हुदै जाने, प्रत्येक वर्ष फलहरु सानो हुँदै जाने तथा फलहरुमा स्वाद हराउदै जाने समस्या देखिएको , यो समस्या पत्ता लगाउन प्रयोगशालामा परीक्षण गरेर मात्र भन्न सकिन्छ ।” यादवले भन्नुुभयो।

सुन्तलामा रोगकिराको समस्या बढ्दै गएपछि यसको न्युनिकरणका लागि पहल शुरु गरेको वागचौर नगरपालिकाका प्रमुख लोकमान वुढाथोकीले जानकारी दिनुभयो ।

“मैले यसका जानकारहरुसँग सम्पर्क गर्दा रोग लागेको रुख र फलको नमुना २४ घण्टा भित्र काठमाडौँ प्रयोगशालामा पुग्ने गरि लिनुपर्ने रहेछ ।” प्रमुख बुढाथोकीले भन्नुभयो “सम्पुर्ण खर्च नगरपालिकाले व्यहोर्ने गरी पठाउने तयारी हुदैछ । ल्याव टेष्टबाट प्राप्त रिर्पोटका आधारमा आगामी दिनमा रोग किरा नियन्त्रणका लागी ठोस योजना ल्याउछौ ।” उहाँले बताउनुभयो ।

एक वर्षमा एउट किसानका १० देखि २० वटा सम्म सुन्तलाका बोट तथा हाँगाहरु सुक्न थालेका छन्, सुन्तला उत्पादक किसान भरतनाथ योगीले भने वर्षेणी कोटमौलामा मात्रै ५ सय देखि १ हजारको हाराहारीमा बोटहरुमा रोग फैलने गरेको छ । मुल्य र रोग नलागेका बोटमा धेरै फलेका कारण उत्पादन भने घटेको छैन । गत वर्ष ३५ करोड बढिको सुन्तला विक्रि गरेका किसानहरुले यो वर्ष पनि सोहि हाराहारीमा विक्रि हुने बताएका छन् ।