
शंकर के सी,
१४ चैत्र, सल्यान । विदेशबाट फर्किएकाहरुलाई सल्यानको कपुरकोट गाउँपालिकाले खोजी गर्दै घरमै गएर परामर्श दिने कार्यलाई जारी राखेको छ ।
भारत, कतार लगाएतका देशबाट आएका नागरिकहरुलाई खोजी गर्दै उनीहरुको घरमै पुगेर छुट्टै बस्न आग्रह सहित आवश्यक परामर्श दिइएको गाउँपालिकाले जनाएको छ ।
कोरोना भाइरस (कोभिड-१९) को महामारी फैलन नदिन सकेसम्मको प्रयास गरेको जनाउँदै गाउँपालिकाका अध्यक्ष भिम बहादुर सेनले कपुरकोट स्थीत हेल्थ डेस्कमा आएकाहरुलाई त्यहिँ नै र पैदल मार्फत अन्यत्रको बाटो हुँदै गाउँ आएका व्यक्तिहरुलाई स्वास्थ्यकर्मी सहित घरमै पुगेर होम क्वारेन्टाइनमा बस्न लगाइएको जनकारी दिनुभयो ।
गाउँपालिकाका ६ वटै वडाहरुमा सतर्कता समिती गठन भएका छन् भने गाउँगाउँमा पर्चा, पमपलेट लगाएतका माध्यमबाट पनि सतर्कताका क्रियाकलापहरु सञ्चालन भइरहेको गाउँपालिकाले जनाएको छ ।
कपुरकोट ६ मा ४ जना, कपुरकोट ४ मा एक जना र कपुरकोट ३ मा एक जना विदेश बाट फर्केर आएका ब्यक्तिलाई होम क्वारेन्टाइनमा बस्न आग्रह गर्दै विशेष सावधानी अपनाउन आग्रह गरिएको हेल्थ डेस्क कपुरकोटका फोकल पर्सन देवेन्द्र कुमार सेनले बताउनुभयो ।
यसैविच गत चैत्र १ गते देखि कपुरकोटमा सुरु भएको हेल्थ डेस्कमा विदेशबाट फर्किएका २ सय ८५ जनाको जाँच गरिएको छ । २४ सै घण्टा हेल्थ डेस्क संचालनमा रहेको र हाल सम्म ३३ हजार ८ सय ४९ जनाको कोरोना स्क्रिनिङ परीक्षण गरिएको फोकल पर्सन सेनले जानकारी दिनुभयो ।
विदेशबाट फर्किएकाहरु स्वयम आफु र आफ्नो परिवारलाई संक्रमणबाट बचाउन सचेन नहुने हो भने र उनीहरुलाई आवशयक परामर्श दिन नसक्ने हो भने सानो गल्तीबाट ठूलो समस्या ब्यहोर्नपर्ने अवस्था आउन सक्ने फोकल पर्सन सेनले बताउनुभयो ।



Prawash Kumar Shakya । १४ चैत्र २०७६, शुक्रबार १६:२८ बजे