बिधुत्त सेवा लिने पहिलो पालिका भयो भैरबी


माघ ४, दैलेख ।

दैलेख जिल्ला भैरबी गाउँपालिकाले प्रस्ताव गरेको सामुदायिक ग्रामीण बिद्युत्तिकरण साझेदारी कार्यक्रमलाई नेपाल बिधुत प्राधिकरण काठमाडौंले स्वीकृति प्रदान गरेको छ । कार्यक्रम स्वीकृत भएसँगै चालू आर्थिक बर्ष २०७५ र ०७६ मा भैरबी गाउँपालिकामा रु १० करोड, ३१ लाख, ४७ हजार, ९ सय, ३१ बराबरको बिद्युत्तिकरण कार्य सम्पन्न हुने भएको छ ।

नेपाल बिद्युत प्राधिकरण सामुदायिक ग्रामीण बिधुत्तिकरण नियमावली २०७१ मा कुनै पनि स्थानीय तहले बिधुतिकरणका लागि १० प्रतिशत रकम बिनियोजन सहित आबश्यक अन्य प्रक्रिया समेत पूरा गरि माग राखेमा बाँकी ९० प्रतिशत रकम नेपाल सरकारले अनुदान स्वरुप उपलब्ध गराउने उल्लेख छ । यसै अनुरुप भैरबी गाउँपालिकाको तर्फबाट बिनियोजित रु १ करोड, ३ लाख, १४ हजार, ७ सय, ९३ र नेपाल सरकारको तर्फबाट प्राप्त रकमसहित गरि जम्म १० करोड, ३१ लाख, ४७ हजार, ९ सय, ३१ को लगानिमा उक्त गाउँपालिकामा बिधुतिकरणको कार्यक्रम अगाडी बढाइने गाउँपालिका अध्यक्ष प्रेमबहादुर बुढाले जानकारी दिनुभयो ।

सो कार्यक्रम स्वीकृत हुनेमा नेपालका ७ सय ५३ स्थानीय तहमध्ये भैरबी गाउँपालिका पहिलो रहेको पनि उहाँले जानकारी दिनु भयो । यसरी आबश्यक प्रक्रिया पूरा गरि पहिलो पटक कार्यक्रम स्वीकृत गराई बिधुतिकरणको काम अगाडी बढाएकोमा खुसी व्यक्त गर्दै सामुदायिक बिधुत उपभोक्ता महासँघका अध्यक्ष नारायण ज्ञवालिले मापदण्ड पूरा गरि आएमा अन्य स्थानीय तहहरुले पनि यो सुबिधा प्राप्त गर्न सक्ने बताउनु भयो । भैरबी गाउँपालिकाबाट सुरु भएको यो कार्यक्रमले उज्यालो दैलेख अभियानको समेत सुरु भएको आफुले महशुस गरेको पनि उहाँको भनाई छ ।

यसअघि गत पौष १८ गते बसेको भैरबी गाउँकार्यपालिकाको बैठकले सो कार्यक्रम संचालन गर्नका लागि गाउँपालिकाको तर्फबाट रु १ करोड रकम बिनियोजन गर्ने निर्णय सहित गाउँपालिकाका अध्यक्ष प्रेमबहादुर बुढाको अध्यक्षतामा ११ सदस्यीय बिधुत बितरक कार्यसमिति समेत गठन गरेको थियो ।