प्रदेश अस्पतालको सूचना प्रति काँग्रेस सुर्खेतको आपत्ति


१ जेठ, सुर्खेत । अक्सिजनको अभाव देखाएर प्रदेश अस्पतालले विरामीको भर्ना नलिने भन्ने भनाइप्रति नेपाली काँग्रेस सुर्खेतले गम्भीर आपत्ति जनाएको छ ।

काँग्रेस सुर्खेतले शनिवार एक विज्ञप्ति प्रकाशित गरी प्रदेश अस्पतालले वैशाख ३१ गते अक्सिजनको अभावमा कोभिडका नयाँ विरामीहरुलाई भर्ना लिन नसक्ने सूचना प्रति गम्भीर ध्यानाकर्षण भएको जनाउँदै विरामीको उपचार गर्ने आशा र भरोसाको केन्द्र अस्पताललाई स्रोत साधन सम्पन्न गराउन संघ, प्रदेश र स्थानीय सरकारलाई सुझाव दिएको छ ।

अस्पताल जस्तो अति संवेदनशील क्षेत्रले अक्सिजन वा अन्य कुनै कारण देखाएर विरामी भर्ना नलिने सूचना जारी गर्नु सरकारको गैरजिम्मेवारी र लाचारीपन भएको काँग्रेसले ठहर गरेको छ । प्रदेश अस्पताल लगायतका स्थानहरुमा बस्तुगत अध्ययन गरी त्यस्को व्यवस्थापन गर्नुपर्नेमा जिम्मेवारीबाट भाग्दा सर्वसाधारणमा त्रास हुने भएकोले अक्सिजन, बेडलगायतको आधारभूत व्यवस्था गर्न संघ, प्रदेश, स्थानीय सरकार, स्थानीय प्रशासन र अस्पताल प्रशासनलाई काँग्रेसले विज्ञप्तिमार्फत अपिल गरेको छ । साथै कोभिडको महामारी रोकथामका लागि सवैले आ—आफ्नो ठाउँबाट योगदान गर्न पनि आग्रह गरिएको काँग्रेस सुर्खेतका सभापति कमलराज रेग्मीद्वारा हस्ताक्षरित विज्ञप्तिमा उल्लेख छ ।

यसैगरी शनिवार नै प्रदेश अस्पतालले विज्ञप्ति जारी गरी प्रदेश अस्पतालमा सीमित साधन र स्रोत भएकोले स्थानीय स्वास्थ्य संस्थाहरुबाट सम्भव हुने उपचार स्थानीय स्तरमै गर्न र त्यहाँ सम्भव नहुने मात्र प्रदेश अस्पतालमा रिफर गर्न आग्रह गरेको छ । अस्पतालका निर्देशक डा. डम्बर खड्काले सूचना जारी गरी संकटको घडीमा सवै स्वास्थ्य संस्था तथा स्वास्थ्यकर्मीहरु जिम्मेवार र संवेदनशील भइ काम गर्नुपर्ने अवस्था आएको र प्रदेश अस्पतालमा सीमित साधन स्रोतबाट अधिकतम सेवा प्रदान गरिएको हुँदा स्थानीय तहमा हुने उपचार त्यही गर्न भनिएको छ । अस्प्तालमा अक्सिजनको अभाव हुँदा विरामीलाई जटिल अवस्था आएको जानकारी गराउँदै विज्ञप्तिमा बास्तविकतालाई बुझिदिन अपिल गरिएको छ ।