राष्ट्रिय नाटक महोत्सवको तयारी तिब्र, देशभरका १४ नाटकहरु मञ्चन हुने


२१ फागुन, सुर्खेत । नेपालमै पहिलो पटक कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरमा राष्ट्रिय स्तरको नाटक महोत्सव सञ्चालन हुने भएको छ । साँस्कृतिक संस्थान र आरङ्ग नेपाल सुर्खेतको आयोजनामा आगामी बिहिबार देखि सुर्खेतमा देशभरका १४ वटा नाटकहरु प्रदर्शन गरिने भएको हो ।

वीरेन्द्रनगरमा आज (विहिवार) आयोजित पत्रकार सम्मेलनमा जानकारी दिदै आरङ्ग नेपालका अध्यक्ष रङ्गकर्मी गणेशभक्त गौतमले संघिय राजधानी भन्दा बाहीर पहिलो पटक सुर्खेतमा नाटक महोत्सवको आयोजना हुनु नै महत्वपुर्ण भएको भन्दै थिएटर नभए पनि, हलको चुनौति भएपनि देशका सातवटै प्रदेशका नाटकहरु प्रदर्शनको अन्तिम चरणमा रहेको बताउनुभयो ।

प्रदेश सरकारले १० लाख रकम सहयोग गरेका बताउँदै उहाँले खर्च तथा अन्य तयारीहरु सबै अन्तिम चरणमा पुगेको बताउनुभयो । वरिष्ठ ब्यक्तिहरु मार्फत कार्यपत्रहरुको प्रस्तुति सँगै महोत्सवमा बिद्यार्थी, शिक्षक तथा अविभावकहरुले सबै नाटक हेर्न छुटाउनु नहुने पनि अध्यक्ष गौतमले सुझाव दिनुभयो ।

साँस्कृतिक संस्थानका नाट्य विभाग प्रमूख प्रभाकर शर्माले सुखी नेपाली, समृद्ध नेपाल भन्ने सरकारको नारा परिपूर्ती गर्न सहयोगी सन्देश प्रवाह गर्ने खालका देशैभरिका नाटकहरु सुर्खेतमा प्रदर्शन हुने भन्दै भाषा, सँस्कृति, कला, राजनीति तथा समाजको यथार्थ झल्काउने खालका नाटकहरु प्रदर्शन हुने जानकारी दिनुभयो ।

संघिय राजधानी बाहीर पहिलो पटक कर्णाली प्रदेशमा हुन लागेको रारा राष्ट्रिय नाटक महोत्सब २०७५ ले कर्णाली प्रदेशको समृद्धिका लागि भूमिका खेल्ने पनि उहाँले आग्रह गर्नुभयो ।

हरेक दिन २ वटा नाटक नेपाल प्रहरी ब्यायमशालामा प्रदर्शन गरिने छन् भने उपप्रधान तथा रक्षामन्त्री इश्वर पोखरेलले महोत्सवको उद्घाटन गर्ने कार्यक्रम रहेको जनाइएको छ ।