बाँकेमा साताव्यापी विविध कार्यक्रमका साथ संविधान तथा राष्ट्रिय दिवस मनाइयो


नेपालगन्ज । संविधान दिवस तथा राष्ट्रिय दिवसको अवसरमा सरकारी स्तरबाट बाँके जिल्लामा प्रभातफेरी, प्रवचन, समाजसेवीहरुलाई सम्मान, भलिवल प्रतियोगिता, वक्तृत्व कला प्रतियोगिता तथा रक्तदान कार्यक्रम सहित विविध कार्यक्रमको आयोजना गरी भव्यताका साथ मनाइएको छ ।

कर्मचारी मिलन केन्द्रका अध्यक्ष गोविन्द प्रसाद पाण्डेले दिनु भएको जानकारी अनुसार असोज ३ गते विहान जिल्ला प्रशासन कार्यालय बाँकेबाट शुरु भएको पञ्चे वाजा सहित त्रिभुवनचोक, वीपीचोक हुँदै प्रभातफेरी भेरी प्राविधिक शिक्षालयमा पुगेर सभामा परिणत भएको थियो । बाँकेका प्रमुख जिल्ला अधिकारी खगेन्द्रप्रसाद रिजालको अध्यक्षता तथा जिल्ला समन्वय समिति बाँकेका प्रमुख ज्ञानेन्द्र कुमार चौधरी प्रमुख आतिथ्यमा सम्पन्न भएको मूल समारोहमा बाँकेको साहित्य तथा समाज सेवामा उल्लेखनीय योगदान गर्नुहुने विभिन्न क्षेत्रका ७ जना महानुभावहरुलाई दोसल्ला, माला र सम्मानपत्रबाट सम्मान गरिएको थियो ।

सम्मानित हुनेमा नेपाली बाँकेबाट नेपाली साहित्यमा उल्लेखनीय योगदान गर्दै करीब दुई दर्जन कृति रचना तथा प्रकाशन गर्नु भएका नेपाल प्रज्ञा प्रतिष्ठानका पूर्व सदस्य सचिव सनत रेग्मी, उर्दु साहित्यमा उल्लेखनीय योगदान गर्दै ये है तलाश सहित करीब एक दर्जन कृति रचना तथा प्रकाशन गर्नु हुने अब्दुल लतिफ शौक, डुडुवा गाउँपालिकामा निर्मित वाल सुधार गृहलाई ८२ कठ्ठा र मानव सेवा आश्रमलाई १० कट्ठा गरी जम्मा ९२ कट्ठा वर्तमान मूल्यमा करीब २० करोड बरावरको जग्गा दान गर्ने मनकारी दानवीर, समाजसेवी तथा शिक्षाप्रेमी व्यक्तित्व जयकेश सिंह, योग मार्फत् बाँके जिल्लाबासीको मानव स्वास्थ्यमा उल्लेखनीय योगदान दिनुहुने योगगुरु आयुर्वेदाचार्य गिरीराज भट्टराई, १५६ पटक रक्तदान गर्नु हुने बाँकेका उत्कृष्ट रक्तदाता गोपीलाल वैश्य, ७६ पटक रक्तदान गर्नु हुने बाँकेका उत्कृष्ट महिला रक्तदाता समाजसेवी सरिता ज्ञवाली तथा अन्जली माता रसोई मार्फत भेरी अस्पताल हाता भित्र कोरोना महामारी कालदेखि अस्पतालका विरामी तथा कुरुवाका लागि रु.४० मा सर्वसुलभ भोजनको निरन्तर व्यवस्थापन गर्नु हुने समाजसेवी जितेन्द्र कुमार सिंह रहनु भएको छ ।

सम्मान कार्यक्रमको व्यवस्थापन नेपालगन्ज उपमहांनगरपालिका, जिल्ला प्रशासन कार्यालय बाँके तथा कर्मचारी मिलन केन्द्र बाँकेले गरेका थिए भने संयोजन बाँकेका सहायक प्रमुख जिल्ला अधिकारी लालबहादुर गुरुङ्ग तथा कर्मचारी मिलन केन्द्र बाँकेका अध्यक्ष गोविन्द प्रसाद पाण्डेले गर्नु भएको थियो ।

कर्मचारी मिलन केन्द्रका अध्यक्ष गोविन्दप्रसाद पाण्डेले सहजीकरण गर्नु भएको सो कार्यक्रममा वक्ताहरुले संविधानले कानूनको शासन र लोकतन्त्रको रक्षा गर्ने बताउँदै यसको पालना सबैले गर्नुपर्ने बताउनु भयो । संविधानलाई समय सापेक्ष बनाउन संशोधन गर्न सकिने बताउँदै संविधानले समावेशी व्यवस्था अंगिकार गरेकोले राज्यका सबै तह र तप्कामा सबै लिङ्ग, वर्ण, क्षेत्र र समुदायको सहभागिता सम्भव भएको बताउनु भयो ।

सो कार्यक्रमका विशेष अतिथिमा नेपालगन्ज उपमहानगरपालिकाका नगर प्रमुख प्रशान्त विष्ट, कोहलपुर नगरपालिकाका नगर प्रमुख पूर्णप्रसाद आचार्य, उच्च अदालत तुलसीपुर इजलास नेपालगन्जका न्यायाधीश चन्द्र बहादुर सारु रहनु भएको थियो भने जिल्ला समन्वय समितिका उपप्रमुख सीता कार्की, कोहलपुर नगरपालिकाका उपप्रमुख संगीता सुवेदी, बाँके जिल्ला अदालतका न्यायाधीश भिष्मराज प्रसाई, लगायतको उल्लेख्य उपस्थिति रहेको थियो ।

दिवसकै अवसरमा शिक्षा विकास तथा समन्वय इकाई बाँकेको समन्वय तथा कर्मचारी मिलन केन्द्र बाँकेको आयोजनामा असोज २ गते कर्मचारी मिलन केन्द बाँकेको सभा कक्षमा संविधानको आवश्यकता र महत्व शीर्षकमा बाँकेका माध्यमिक विद्यालय स्तरीय छात्र र छात्राहरु वीच अलग–अलग वक्तृव्य कला प्रतियोगिता आयोजना गरिएको थियो । उक्त प्रतियोगितामा विजयी छात्र छात्राहरुलाई नगद पुरस्कार तथा प्रमाणपत्र कार्यक्रमका प्रमुख अतिथि, विशेष अथितिले प्रदान गर्नु भएको थियो । छात्रा समूहमा प्रथम स्थान हाँसिल गर्ने कोशिका खड्का जनता मा.वि. सन्तकुटी खजुरा, द्वितीय स्थान हाँसिल गर्ने नविता विष्ट ने.रा. मा.वि. मनकामनापुर खजुरा तथा तृतीय स्थान हाँसिल गर्ने निशा गुप्ता महेन्द्र मा.वि. मटेहिया नरैनापुर रहेका थिए ।

छात्र समूहमा प्रथम स्थान हाँसिल गर्ने नवराज पुन लक्ष्मी मा.वि. मुदुई राप्तीसोनारी, द्वितीय स्थान हाँसिल गर्ने बसन्त बुढा दिपज्योति विद्या निकेतन वैजनाथ तथा तृतीय स्थान हाँसिल गर्ने ऋषिराम तिवारी, महेन्द्र मा.वि.मटेहिया नरैनापुर रहेका थिए दुबै समूहमा प्रथम पुरस्कार पाँच हजार, दोस्रो पुरस्कार तीन हजार तथा तेस्रो पुरस्कार दुई हजार रहेको थियो । वक्तृत्व कला प्रतियोगिताको पुरस्कारमा बीस हजार तथा अन्य सबै आर्थिक व्यवस्थापन कर्मचारी मिलन केन्द्र बाँकेले गरेको थियो ।

सोही अवसरमा नेपालगन्ज उपमहानगरपालिका, जिल्ला प्रशासन कार्यालय बाँकेको आयोजना तथा खेदकुद विकास समिति बाँकेको प्राविधिक सहयोगमा नेपालगन्ज रंगशालामा असोज १ र २ गते भलीवल प्रतियोगिता आयोजना गरिएको थियो । उक्त प्रतियोगितामा विजयी भलिबल टिमका टिम लिडर संगठनका प्रमुख तथा खेलाडीहरुलाई पुरस्कार तथा प्रमाण पत्र कार्यक्रमका प्रमुख अतिथि, विशेष अतिथि तथा अध्यक्षले प्रदान गर्नु भएको थियो । भलिवल प्रतियोगितामा प्रथम स्थान हाँसिल गर्ने भलिवल संघ बाँके टिमलाई नगद रु.१०,००० पुरस्कार सहित प्रमाण पत्र प्रदन गरिएको थियो ।

पुरस्कार वितरण कार्यक्रममा भलिवल संघ बाँके अध्यक्ष मनीराम बटला तथा टिम क्याप्टेन र सबै खेलाडीको सहभागिता रहेको थियो । नेपाली सेना बाँके टिमले द्वितीय स्थान हाँसिल गरेर नगद रु.७५०० पुरस्कार सहित प्रमाण पत्र प्रदान गरिएको थियो ।

सो कार्यक्रममा नेपाली सेना बज्रदल गण राँझाका गणपती रविन श्रेष्ठ, टिम क्याप्टेन तथा नेपाली सेनाका सबै खेलाडीहरु, बाँकेका प्र्रहरी उपरिक्षक तुलबहादुर कार्की, टिम क्याप्टेन तथा नेपाल प्रहरीका सबै खेलाडीहरु सहभागिता रहेको थियो । प्रतियोगितामा तृतीय स्थान नेपाल प्रहरी बाँके टिमले प्राप्त गरी नगद रु.५००० पुरस्कार सहित प्रमाण पत्र प्राप्त गरेको थियो । प्रतियोगिताको पु्रस्कार रकम तथा अन्य सबै अर्थिक व्यवस्थापन नेपालगन्ज उपमहानगरपालिकाले गरेको थियो ।

कर्मचारी मिलन केन्द्रका अध्यक्ष तथा जिल्ला हुलाक कार्यालयका प्रमुख पाण्डेका अनुसार भलिवल प्रतियोगिताको संयोजन बाँकेका सहायक प्रमुख जिल्ला अधिकारी जोरासिंह माझीले गर्नु भएको थियो । मूल समारोहको खाजापानी लगायतको व्यवस्थापन नेपालगन्ज उपमहांनगरपालिकाले गरेको थियो भने पञ्चेवाजाको व्यवस्थापन कोहलपुर नगरपालिकाले गरेको थियो ।

यसैगरि नागरिक स्तरबाट पनि यहाँ विभिन्न संघ संस्थाहरुले गाउँपालिकाले पनि बेग्लाबेग्लै कार्यक्रमहरुको आयोजना गरी संविधान दिवस मनाएका थिए । समाचार अनुसार बास नेपालले गणेशमान चोकमा नागरिक सम्वाद काार्यक्रमको आयोजना गरेको थियो ।

सो कार्यक्रममा बास नेपालका सल्लाहकारहरु किरण आचार्य, पूर्ण लाल चुके, रुद्र तिमिल्सेना, हरित अभियन्ता हेमन्त काफ्ले, बासका कार्यकारी निर्देशक नमस्कार शाह, रविन्द्र बोहरा लगायतले संविधानको बारेमा बोलेका थिए ।

त्यस्तै सूचना र मानव अधिकार अनुसन्धान केन्द्र र सार्वजनिक सरोकार कानून व्यवसायी समूह नेपालगन्जको संयुक्त आयोजनामा संविधान वाचन कार्यक्रम गरिएको थियो । संविधानका बारेमा सेचतना अभिवृद्धिका लागि संविधान वाचन गरिएको कार्यक्रममा विभिन्न व्यक्तिहरुले संविधान वाचन गरेका थिए । नेपालको संविधान २०७२ मा कुल धारा ३०८, भाग ३५, र अनुसूचि ९ सबै वाचन गरिएको संस्थाका अध्यक्ष अधिवक्ता विश्वजित तिवारीले बताउनु भयो । उहाँका अनुसार नेपालको सविधान तथा कानून पढ्ने बानी बसाल्न र सबैले संविधानको हरेक धारा तथा दफामा भएको व्यवस्था बारे आम नागरिकलाई सचेतना अभिवृद्धिका लागि संविधान वाचन गरिएको हो ।

सो कार्यक्रममा नेपालगन्ज उपमहानगरपालिकाका प्रमुख प्रशान्त विष्ट, प्रमुख जिल्ला अधिकारी खगेन्द्र प्रसाद रिजाल, बाँके प्रहरी प्रमुख तुलबहादुर कार्की, उच्च अदालत बारका अध्यक्ष चित्रबहादुर शाही, जिल्ला बारका अध्यक्ष मेहर सिंह, वरिष्ठ अधिवक्ता सुनिल कुमार श्रेष्ठ, अधिवक्ताहरु लोकबहादुर शाह, बसन्त गौतम, बलबहादुर चन्द, मीरा ददेल, भानुभक्त रिजाल, कृषि ज्ञान केन्द्र नेपालगन्जका सूचना अधिकारी राम प्रकाश यादव, लुम्विनी प्रदेश मुख्यमन्त्री कार्यालयका लेखा अधिकृत दिनेश सिंहले संविधान वाचन गर्नुभएको थियो ।

यसैगरि सामाजिक अभियन्ता कृष्णप्रसाद श्रेष्ठ, शैलेन्द्र वैश्य, हेमन्त काफ्ले, रविन्द्र ज्ञवाली, योग गुरु गिरीराज शर्मा भट्टराई, जानकी गाउँपालिका वार्ड नं. २ का अध्यक्ष चन्द्रिका प्रसाद गुप्ता, विद्यार्थीहरु जिज्ञासा तिवारी, कृष्ण बढही, अस्मिता खनाल, लक्ष्मी सार्की, घनश्याम शाही, शेरबहादुर चलाउने, झक्क भण्डारी लगायतले संविधानका विभिन्न धाराहरु वाचन गर्नुभएको थियो ।

त्यस अवसरमा स्टेसनरी व्यवसायी संघ बाँकेका अध्यक्ष सागर ज्ञवालीले ५० थान नेपालको संविधान पुस्तक उपलब्ध गराउनु भएको थियो । कार्यक्रममा नेपाली र अवधी भाषामा संविधान वाचन गरिएको वाचन गरिएको कार्यक्रम संयोजक जिज्ञासा तिवारीले बताउनु भयो ।