समृद्धिको यात्रामा रंगकर्मीको भूमिका महत्वपूर्ण छ मन्त्री पोखरेल


 २३ फागुन, सुर्खेत ।

नेपाल सरकारका उपप्रधान तथा रक्षा मन्त्री ईश्वर पोखरेलले स्थानिय सरकार र प्रदेश सरकारलाई तोकिए बमोजीमका कामहरु गर्न निर्देशन दिनुभएको छ । मन्त्री पोखरेलले के के काम गर्ने भन्ने सबै स्पष्ट हुँदाहुँदै पनि काम गर्न असजिलो भयो भन्नु ठिक होइन भन्दै गर्नुपर्ने र गर्न मिल्ने सबैकामहरु तदारुकताका साथ गर्न निर्देशन दिनुभएको हो ।

रारा राष्ट्रिय नाटक महोत्सवको उद्घाटन गर्दै मन्त्री पोखरेलले समृद्धि र समाज रुपान्तरणमा रंगकर्मीहरुको उल्लेख्य भूमिका रहेको भन्दै रंगकर्मीहरुका लागि थेयटर निर्माणका लागि प्रदेश सरकारले सहयोग गर्नु पर्ने सुझाव दिनुभयो । कर्णाली प्रदेशमा थुप्रै सम्भावनाहरु भएको भन्दै मन्त्री पोखरेलले सम्भावनाको उपयोगमा सबै लाग्नु पर्नेमा जोड दिनुभयो ।

महोत्सवको उद्घाटन गर्दै कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले कर्णालीको इतिहाँस हराउने चिन्ता भइरहेका बेला राष्ट्रिय नाटक महोत्सव प्रदेश राजधानीमा आयोजना गरि सातवटै प्रदेशका रंगकर्मीहरुलाई यहाँ ल्याई सबै प्रदेशका नाटकहरु प्रदर्शन हुनुले इतिहाँस बचाउने अभियान पनि भएकोमा खुसी ब्यक्त गर्नुभयो । पलभरको खुसीको कुनै अर्थ नहुने भन्दै मुख्यमन्त्री शाहीले स्थायी खुसीका लागि सरकार समृद्धिको अभियानमा लागेकोले सो अभियानलाई सफल पार्न रंगकर्मीहरुको पनि महत्वपूर्ण भूमिका रहनेमा बिस्वास ब्यक्त गर्नुभयो । संघिय सरकारले कर्णाली प्रदेशको विकासमा आबस्यकता अनुरुपको बजेट बिनियोजनमा कन्जुस्याँई गरेको भन्दै मुख्यमन्त्री शाहीले जनसंख्याको आधारमा नभई कठिन भूगोलका आधारमा विकासे बजेट छुट्टयाइनु पर्नेमा सुझाउनु भयो ।

कर्णाली प्रदेशका सामाजिक विकास मन्त्री दल रावलले इतिहाँसको बिरासत बोकेको, खस भाषा र सँस्कृतिको जन्मथलो कर्णालीलाई संसारभर चिनाउनु आजको आबस्यकता भएको औंल्याउनु भयो । उहाँले कला, सँस्कृतिको विकास, उत्थान तथा संरक्षणका लागि प्रदेश सरकार सँधै साथमा रहने पनि प्रतिबद्धता ब्यक्त गर्नुभयो ।

नेपाल साँस्कृतिक संस्थान र आरङ्ग नेपाल सुर्खेतको आयोजनामा पहिलो पटक आयोजित महोत्सबको पहिलो दिन अप्रतियोगि नाटक मुसल पर्बको प्रदर्शन गरिएको छ । आरङ्ग नेपालका अध्यक्ष गणेशभक्त गौतमको लेखन तथा निर्देशन रहेको नाटकले समाजको बिकृतिलाई उदांगो पारेको छ भने सबै नेपाली नमिले सम्म समृद्धिको सपना साकार नहुनेमा जोड दिइएको छ ।

२९ गते सम्म सञ्चालन हुने महोत्सवमा मूलुकको सात प्रदेशका १३ नाटकहरु प्रदर्शन गरिने आयोजकले जानकारी दिएकाछन् ।