राप्रपा (संयुक्त)को प्रदेशस्तरीय भेलाको तयारी तिब्र


३० फागुन, सुर्खेत । राष्ट्रिय प्रजातन्त्र पार्टी (संयुक्त) ले यही चैत्र ४ गते कर्णाली प्रदेशको राजधानी सुर्खेतमा हुने कर्णाली प्रदेशस्तरीय भेलाको तयारी तिब्र पारेको जनाएको छ । प्रदेशस्तरीय अगुवा नेता तथा कार्यकर्ताहरुलाई प्रशिक्षण दिने कार्यक्रमका साथै पार्टी एकिकरण पश्चातको एकताको सन्देश दिने उद्देश्यले प्रदेशस्तरीय भेलाको आयोजना गरेको पार्टी केन्द्रिय सदस्य कविराम पुरीले जानकारी दिनुभयो ।

प्रशिक्षण कार्यक्रममा अध्यक्षद्वय पशुपति शमसेर जबरा र डा. प्रकाशचन्द्र लोहनी आउने कार्यक्रम रहेको बताइएको छ । यही चैत्र ४ गते हुने प्रदेशस्तरीय भेलामा कर्णाली प्रदेशका १० जिल्लाका पार्टी नेता तथा अगुवा कार्यकर्ताहरुको सहभागीता हुने राप्रपा (संयुक्त) सुर्खेत जिल्ला कार्यसमितिले जनाएको छ ।

राप्रपा (संयुक्त) ले राजसंस्था सहितको प्रजातन्त्र र हिन्दूराष्ट्र स्थापनाका बारेमा पार्टीको स्पष्ट धारणा कार्यकर्ताहरु समक्ष पुर्‍याएर संगठन सुदृढिकरण गर्दै अघि बढ्ने योजना अनुरुप सातवटै प्रदेशहरुमा प्रशिक्षण कार्यक्रम गर्ने निर्णय अनुसार पार्टी अध्यक्षद्वय नै सुर्खेत आउन लाग्नु भएको हो । प्रशिक्षण कार्यक्रममा पार्टीका अन्य केन्द्रिय नेताहरुको समेत सहभागीता रहने बताइएको छ ।