डा. के.सी.को अनसन १९ असोज सम्मलाई स्थगित


काठमाडौं । चिकित्सा शिक्षा ऐनमार्फत स्वास्थ्य र मेडिकल शिक्षामा सुधार गर्न भनी आमरण अनसन बसेका डा. गोविन्द केसीले अनसन स्थगित गरेका छन् ।

असोज ९ गते संसदमा जनता र विद्यार्थीमुखी नभई माफियामुखी चिकित्सा शिक्षा विधेयक पारित गर्ने अन्तिम प्रयास भएको अवस्थामा उनले चिकित्सा शिक्षा ऐनलाई सही रुपमा पारित गर्नुपर्ने लगायत ५ बुँदे मागहरु राखेर सत्याग्रह शुरु गरेका थिए ।

सत्याग्रह शुरु भएको केही घण्टामा चिकित्सा शिक्षा ऐन पारित नगरी संसद हाललाई स्थगित भएको तथा नेपालीहरुको प्रमुख चाड दशैं आएकाले देशभरका सहयोगी, समर्थक र शुभचिन्तक लगायत सबैको दशैं उल्लासमय रहोस् भन्ने आशयका साथ हाललाई सत्याग्रहको कार्यक्रम स्थगित गरेको उनले बुधबार विज्ञप्ति जारी गरेर बताएका छन् ।

तर अझै पनि माफियाहरुको स्वार्थमा चिकित्सा शिक्षा ऐन पारित गर्ने प्रयास भइरहेकाले त्यसो हुन नदिन, माथेमा प्रतिवेदन तथा हाम्रा सुझावहरु समेटेर सही रुपमा चिकित्सा शिक्षा ऐन पारित गराउन तथा अन्य मागहरु पूरा गराउनका लागि यही असोज १९ गतेदेखि पुनः सत्याग्रह कार्यक्रम शुरु हुने उनले जानकारी दिएका छन् ।

साभारः बाह्रखरीअनलाइन