चैत्र २, सुर्खेत । नेकपा विप्लबका पोलिटब्यूरो सदस्य भरत बम “रणबिर”ले देशका राष्ट्रघाती, जनघाती, भ्रष्ट दलाल र तस्कर शासकलाई लाउनु पर्ने प्रतिबन्ध त्यसका विरुद्ध लडिरहेको नेकपालाई प्रतिबन्ध लगाउनु सरकारको कदम हतास मानसिकताको उपज र हास्यास्पद भएको टिप्पणी गर्नुभएको छ ।
सरकारले लगाएको प्रतिबन्ध हाम्रो तर्फबाट हेर्दा पार्टीको बिचार र कार्यदिशाको सफलता हो भन्दै नेता बमले हाम्रो पार्टीको बिचार र कार्यक्रमसँग सरकारले हार खाएर युद्धको बाटो रोज्न पुगेको आरोप लगाउँदै यसको चौतर्फी प्रतिरोध आवश्यक भएको बताउनु भयो ।
आफूहरु नभई सरकार युद्धको तयारीमा जुटेको हो, हाम्रो पार्टीमाथि लगाइएको प्रतिबन्ध र हातहतियार खरिद गर्ने सरकारी निर्णयले स्पष्ट गर्छ नेता बमले थप्नुभयो राज्यद्वारा थोपरिने हरेक शोषण, अन्याय, अत्याचार, दमन र अन्यायपूर्ण युद्धको हाम्रो पार्टीले डटेर सामना गर्दै आएको छ र गर्नेछ ।
तपाईको गृह जिल्ला कालीकोट जोखिमपूर्ण छ है भन्ने जिज्ञासामा नेता बमले यो चिन्ताको बिषय नभई गौरवको बिषय बनेको भन्दै राज्यले हाम्रो पार्टीको नेतृत्वमा भैरहेको बिकास निर्माण कार्यमा अबरोध गरेको छ । अवस्य पनि देश र जनताका दुश्मन प्रतिक्रियावादीलाई, क्रान्तिका भगौडा, गद्दार, धोकेबाज, अवसरवादी र संसोधनवादीलाई कालीकोटमा मात्रै नभई देशैभरी जोखिम छ र हुनुपर्छ भन्ने तर्क राख्नुभयो ।
हतियार र जनमुक्ति सेनाको संख्या आवश्यकताअनुसार तयार हुन्छन् भन्दै पोलीटब्यूरो सदस्य बमले युद्ध र वार्ता दुबै प्राथमिकतामा नभएको तर्क गर्दै क्रान्ति नै पार्टीको प्राथमिकतामा रहेको दाबी गर्नुभयो । हजारौंको बलिदानबाट पनि पूरा हुन नसकेको अधुरो क्रान्तिका कारण देश र जनता थप संकटतिर धकेलिएकाले त्यही अधुरो क्रान्ति एकीकृत जनक्रान्ति मार्फत पूरा गर्ने र बैज्ञानिक समाजवादको स्थापना गर्नु मुख्य कार्यभार भएको खुलासा गर्नुभयो ।



Milan Shrestha । २ चैत्र २०७५, शनिबार १५:५३ बजे