
१३ चैत्र, कालिकोट कालिकोट जिल्लाको नरहरिनाथ गाउँपालिकामा अधिकांस खानेपानी योजनाहरु लथालिङ्ग अवस्थामा रहेको देखिएका छन् । खानेपानी तथा सरसफाइ उपभोक्ता महासंघ नेपाल नरहरिनाथले गरेको अनुगमनका क्रममा खानेपानी योजनाको स्थिति अत्यन्तै दयनीय देखिएको हो ।
हेल्भेटास नेपालको सहयोगमा खानेपानी तथा सरसफाइका क्षेत्रमा सुशासन कार्यक्रम अन्तरगत महासंघले खानेपानी तथा सरसफाइ अवस्थाको विषयमा अध्ययन गर्ने र उपभोक्ता समितिको क्षमता अभिवृद्धि गराउने काम गर्दै आएको छ ।
महासंघले नरहरिनाथको बड्डा खानेपानी योजनाको अनुगमन गर्दा योजना व्यवस्थित रुपमा नचलेको मात्रै नभइ योजनाका सबै उपभोक्ताहरुले फोहर पानी पिउनु पर्ने स्थिति देखिएको महासंघ नरहरिनाथका अध्यक्ष धनबहादुर विष्टले बताउनुभयो ।
खानेपानी कार्यालय र गाउँपालिका बाट बजेट सहयोग भएकोमा पानीको मुहान समेत संरक्षण नगरी ट्याङ्कीमा मुसा,छेपारा र अन्य फोहर घुस्ने गरेको र त्यस्तै पानी पिउनुपर्ने बाध्यता रहेको योजनाकी उपभोक्ता सत्यदेवी भट्टराईले बताउनुभयो ।
यसैगरी नरहरिनाथ -३ स्थित बेरुल्ले खानेपानी योजनाको अनुगमन गर्दा २०६६ सालमा बनेको सो योजना अब अवशेष मा परिणत भैसकेको अनुगमनमा सहभागी खानेपानी तथा सरसफाइ उपभोक्ता महासंघका कार्यक्रम अधिकृत प्रेम न्यौपानेले ताउनु भयो ।
अनुगमनका क्रममा जलेला खानेपानी तथा सरसफाइ योजना मात्रै प्रभावकारी रुपमा सञ्चालन भैरहेको देख्न पाइएको अनुगमन टोलीको भनाइ छ । उक्त योजना उपभोक्ता समितिले नियमित वैठक बस्ने,साधारणसभा र सार्वजनिक सुनुवाइ गर्ने र समितिलाई दर्ता तथा आवद्धतामा लिने प्रयासमा रहेको देख्न पाइएको बताइएको छ ।
अनुगमन टोलीले अनुगमनका क्रममा योजनाको दिगोपनाका साथै आर्थिक पारदर्शिता लगाएतका विषयमा महत्त्व सुझाव दिएको महासंघ कालिकोटका जिल्ला अध्यक्ष चित्रसिंह गाउँलेले बताउनुभयो ।
महासंघको पालिका स्तरीय अनुगमन कार्यक्रमको कारण स्थानीय जनप्रतिनिधि र उपभोक्ता समितिका पदाधिकारीहरुमा जवाफदेहीता अभिवृद्धि गराएको बताइएको छ ।



Milan Shrestha । १३ चैत्र २०७५, बुधबार २१:१२ बजे