ईतिहाँसमा रेशमी मार्गका रुपमा परिचित कर्णाली करिडोरः मुख्यमन्त्री शाही


१४ चैत्र, सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले कर्णाली नदीसंग कर्णालीको ईतिहाँस, सभ्यता र अर्थतन्त्र जोडिएको बताउनुभएको छ । तेश्रो राष्ट्रिय नदी शिखर सम्मेलन–२०७५को आज सुर्खेतमा उदघाटन गर्दै मुख्यमन्त्री शाहीले कर्णाली नदी कर्णालीवासीको जीवनसंग जोडिएको बताउनुभयो ।
ईतिहाँसमा रेशमी मार्गका रुपमा परिचित कर्णाली करिडोर बंगाल र भोटको व्यापार जोडने ठुलो आर्थिक करिडोर रहेको चर्चा गर्दै मुख्यमन्त्री शाहीले अब पनि कर्णालीलाई मुलुककै ठुलो अर्थतन्त्र निर्माणका लागि जुटनुपर्ने बताउनुभयो । धार्मिक महत्वको मानसरोवर पुग्ने पर्यटकहरुका लागि कर्णाली करिडोर सबै भन्दा छोटो रुट हुने चर्चा गर्दै मुख्यमन्त्री शाहीले धार्मिक पर्यटनका दृष्टिले पनि कर्णालीको महत्व धेरै रहेको बताउनुभयो ।
कर्णालीको प्राकृतिक स्वच्छता र सुन्दरताको संरक्षण अपरिहार्य रहेको बताउदै मुख्यमन्त्री शाहीले कर्णालीको सुरक्षाका लागि सरोकारवाला सबै लाग्नुुपर्ने बताउनुभयो ।
कर्णाली करिडोरमा सडक पुर्वाधारको विकासका लागि प्रदेश सरकार लागिपरेको बताउदै मुख्यमन्त्री शाहीले अबको ५ वर्षभित्र सडकमार्गवाटै पर्यटकहरु मानसरोवर जाने दावी गर्नुभयो ।
केही महिना अघि नदी संरक्षण संस्थाको अगुवाईमा कर्णाली नदीको उत्पत्ति स्थल तिव्वत देखि गंगा नदी सम्म ४४ दिन लगाएर गरिएको अध्ययनमा आधारित वृत्तचित्र पनि कार्यक्रममा प्रदर्शन गरिएको थियो । कर्णाली प्रदेशको राजधानी सुर्खेतको वीरेन्द्रनगरमा आज उद्घाटन गरिएको शिखर सम्मेलन दैलेखको राकममा ३ दिनसम्म चल्ने बताईएको छ ।
शिखर सम्मेलनमा नेपाल र नेपाल बाहिरका वैज्ञानिक, नदी संरक्षण अभियन्ता, पत्रकार लगायतको सहभागिता रहेको छ । शिखर सम्मेलनको आयोजक संस्था नदी संरक्षण संस्थाका अध्यक्ष मेघ आलेले विविधतायुक्त विश्वका ५ महत्वपुर्ण नदी मध्ये एउटा नदी कर्णाली रहेको कारण कर्णालीको अवस्था अध्ययन, नदी संरक्षण लगायतका विषयमा सम्मेलनमा व्यापक छलफल हुने जानकारी दिनुभयो ।
सम्मेलनको अन्त्यमा कर्णाली घोषणापत्र जारी गरिने पनि उहाँले बताउनुभयो ।