इन्फोटेक मनोरञ्जन लिने मेला नभई ज्ञान हासिल गर्ने स्थानः मन्त्री भण्डारी


फागुन २८ सुर्खेत । कर्णाली प्रदेशको राजधानी सुर्खेतको वीरेन्द्रनगरमा यही फागुन २४ गतेदेखि २८ गतेसम्म संचालन भएको क्यान इन्फोटेक आज (मंगलवार) समापन गरिएको छ ।
समापन कार्यक्रममा बोल्दै कर्णाली प्रदेश सरकारका आन्तरिक मामिला तथा कानून मन्त्री नरेश भण्डारीले क्यान इन्फोटेक समृद्धि हासिल गर्ने माध्यम भएको बताउनुभएको छ । समापन कार्यक्रमको प्रमुख अतिथिको रुपमा बोल्दै मन्त्री भण्डारीले भन्नुभयो, ‘विज्ञान र प्रविधिको प्रयोग गर्न नसक्ने हो भने समृद्धि भन्ने कुरा ल्हासामा सुन छ भने जस्तै हुन्छ ।
त्यसैले सबैले विज्ञानमा विश्वास गर्नुपर्छ ।’ यो इन्फोटेक मनोरञ्जन लिने मेला नभई ज्ञान आर्जन गर्ने स्थान भएकोले सबैले यस्ता इन्फोटेकहरु अवलोकन गर्नु पर्ने बताउँदै मन्त्री भण्डारीले थप्नुभयो, ‘पल–पल विज्ञानले नयाँ आविश्कारहरु गरिरहेको छ अब कर्णालीबाट पनि विज्ञान र प्रविधि सम्बन्धि नयाँ आविश्कार गर्नुहोस् । जसलाई विश्व बजारमा पठाएर कर्णालीले शीर ठाडो बनाउन सकोस् ।’ कसैले प्रविधि सम्बन्धि नयाँ आविश्कार गर्छ भन्ने सच्चा राष्ट्रियता त्यही झल्किने बताउँदै मन्त्री भण्डारीले यस पटकको इन्फोटेकबाट अनुभव बटुल्दै आगामी दिनमा अझैँ भव्य तरिकाले इन्फोटेकको आयोजना गर्न आयोजकलाई सुझाउनु भयो । यो इन्फोटेक डिजिटल कर्णाली निर्माणका लागि कोशेढुङ्गा सावित हुने मन्त्री भण्डारीको भनाई थियो ।
पाँच दिनसम्म संचालन भएको उक्त इन्फोटेकमा कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्र बहादुर शाही, आन्तरिक मामिला तथा कानून मन्त्री नरेश भण्डारी, पर्यटन मन्त्री नन्दसिं बुढा, कर्णाली प्रदेश सरकारका प्रमुख सचिव रामप्रसाद थपलिया, प्रमुख जिल्ला अधिकारी वीरेन्द्रकुमार यादव, वीरेन्द्रनगर नगरपालिकाका प्रमुख देवकुमार सुवेदीलगायतले अवलोकन गरे । अवलोकनको क्रममा सुर्खेतमा संचालन भएको यस इन्फोटेकले प्रविधिको विकासका लागि निकै महत्वपूर्ण योगदान पु¥याएको र आउँदा दिनहरुमा समेत यस्ता इन्फोटेकहरु संचालन हुनु पर्ने तथा प्रदर्शनी गृहको स्थापना हुनु पर्ने लगायतका सकारात्मक प्रभाव पारेकाले आयोजकले खुसी व्यक्त गरेको छ ।
समापन कार्यक्रममा बोल्दै क्यान महासंघ कर्णाली प्रदेशका अध्यक्ष पूर्णदेव अधिकारीले भन्नुभयो, ‘कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्र बहादुर शाही प्रविधिमैत्री भएकोले पनि क्यान इन्फोटेक सफल पार्न हौसला मिलेको हो ।’ अधिकारीले थप्नुभयो, ‘ प्रविधिको विकास नगरे अरु विकासमा पछि परिन्छ भन्ने मुख्यमन्त्रीको विश्लेषणलाई आत्मसाथ गरेर अगाडि बढ्छौ । कर्णाली प्रदेश सरकारले गरेको सहयोग क्यान परिवार निकै खुसी भएको छ ।’
आइएमइ पे मुख्य प्रयोजक रहेको उक्त इन्फोटेकमा भिष्टा सिसिटिभीले एशोसियट प्रयोजन गरेको थियो भने अफिसियल इन्स्योरेन्स प्रभु इन्स्योरेन्सले गरेको थियो । मेला भित्र आईसिटी कन्फ्रेन्स, आईटी वर्कसपहरु डिजिटल कर्णालीका लागि स्मार्ट प्रविधि विषयमा सेमिनार, कर्णाली प्रदेशमै पहिलो पटक अनलाइन पब–जी गेम जस्ता कार्यक्रमहरु सञ्चालन भएका थिए ।
सूचना प्रविधिको बृहत प्रदर्शनी, प्रत्येक दिन आईटी सेमिनार, लक्की ड्र बाट पाँच जनालाई रारा भिजिटका लागि गोलाप्रथा समेत गरेको छ । कम्प्युटर ल्यापटप र प्रिन्टर फ्रि सर्भिस क्याम्प, टाईपिङ्ग कम्पीटिसन, नेपाली वैज्ञानिकहरुद्वारा निर्मित रोबर्र्ट तथा अन्य प्रविधिहरुको प्रदर्शनी, दृष्टिविहिनहरुलाई कम्प्युटर मोवाईल चलाउन सिकाईएको थियो भने सेवा तथा सामान खरिदमा ५ देखि ५० प्रतिशतसम्म छुटको व्यवस्था, अनलाईन टिकेटिङमा निःशुल्क टिकटको व्यवस्था र हरेक दिन १० जनालाई एनपिएभी एन्टिभाईरस सित्तैमा प्रदान गरेको आयोजकले जनाएको छ ।
यही फागुन २४ गते कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्र बहादुर शाहीले औपचारिक उद्घाटन गरेपछि स्टलहरुको उद्घाटन रोबर्टले रिबन काटेर गरेको थियो । कर्णाली प्रदेशमै पहिलो पटक रोबर्ट ल्याइएको थियो भने सुर्खेतका विद्यार्थीहरुले बनाएको रोबर्ट समेत प्रदर्शनीमा राखिएको थियो । इन्फोटेक स्थलमा रोबर्ट हेर्नेहरुको भीड लागेको थियो ।  इन्फोटेक ३५ हजार बढि दर्शकले अवलोकन गरेको आयोजकले जनाएको छ ।
कार्यक्रममा सुर्खेत उद्योग बाणिज्य संघका अध्यक्ष धन बहादुर रावत, उद्योग बाणिज्य महासंघ कर्णाली प्रदेशका उपाध्यक्ष कविराज खत्री, क्यानका कानूनी सल्लाहकार दुर्गा सापकोटा, क्यान सुर्खेतका संस्थापक अध्यक्ष राम किशोर रावललगायतले आफ्ना भनाईहरु राख्नु भएको थियो ।
कार्यक्रमको समापन गर्दै क्यान सुर्खेतका अध्यक्ष एवं इन्फोटेकका संयोजक प्रेमप्रकाश चन्दले यो इन्फोटेक सहयोग गर्ने प्रायोजकहरु, मिडिया पार्टनरहरुलगाएत क्यान सुर्खेतलाई माया गरि इन्फोटेक सफल बनाउनेहरुलाई धन्यवाद ज्ञापन गर्दै उहाँले अहिलेको यो उत्साह एवं सहयोगले अर्को पटक अझ यो भन्दा पनि राम्रो इन्फोटेक गर्न उत्साह थपिएको बताउनुभयो ।