प्रदेश २ मा परीक्षा रद्द हुँदा विद्यार्थी मारमा


१६ चैत, जनकपुरधाम । प्रदेश २ मा लगातार दुई दिन माध्यमिक शिक्षा परीक्षा(एसईई )कोप्रश्नपत्र परीक्षाअघि नै बाहिरिएपछि परीक्षा रद्द हुदाँविद्यार्थी मारमा परेका छन ।

बिहीबार रातिसमाजिक सञ्जाल भाइबर, इमो, ह्वाट्सएप आदि माध्यमबाट समाजिक शिक्षा विषयको प्रश्नपत्र बाहिरिएको जानकारी आयो । बुधबार राति विज्ञान विषयको प्रश्नपत्र बाहिरिएपछि दुवै विषयको परीक्षा रद्द हुँदा प्रदेश २का विद्यार्थीपीडित बनेका छन् । लगातार परीक्षा रद्द हुन थालेपछि अगामीको परीक्षा हुने नहुने अन्योल परीक्षार्थी आस्था झाले बताउनुभयो ।

परीक्षा दिन शुक्रबार परीक्षा केन्द्र पुगेका परीक्षार्थीलेसमाजिक शिक्षा विषयको परीक्षा रद्द भएकोे थाहापाएपछि आक्रोशित भएर सडकमा प्रदर्शनसमेत गरे । प्रदेश २ को आठवटै जिल्लाको सदरमुकाममा विद्यार्थीले दुई घन्टा चक्काजाम गर्नुको साथै टायर बालेर चोक चोकमा प्रर्दशन गरे । प्रदेश २ को राजधानी जनकपुरधामसहित सप्तरीको सदरमुकाम राजविराज, सिरहाको लहान, महोत्तरीको सदरमुकाम जलेश्वर, बाराको कलैया, पर्साको वीरगन्ज, रौतहटको सदरमुकाम चन्द्रनिगाहपुर र सर्लाहीको सदरमुकाम मलङ्गवामा विद्यार्थीले दोषीलाई कारबाहीको माग गरी प्रर्दशन गरे ।

विद्यार्थीले गरेको प्रदर्शनका कारण प्रदेश २ को राजधानी जनकपुरधामको नगरक्षेत्र विहान ९ बजेदेखि ११ वजे सम्म तनाव ग्रस्त बनेको थियो । पछि स्थानीय प्रशासनले प्रहरी परिचालन गरी सामान्य बल प्रयोग गरेर स्थितिलाई नियन्त्रणमा लिएको थियो । प्रदेश २ मा करिब ७२ हजार विद्यार्थी परीक्षामा सहभागी भएको प्रदेश २ का शिक्षा निर्देशक रमाकान्त शर्माले जानकारीदिनुभयो ।

यता प्रदेश २ का सरकारले यस प्रकारको घटनाको जिम्मा सङ्घीय सरकारले लिनुपर्ने प्रतिक्रिया दिएको छ । सरकारका प्रवक्ता एवम् आन्तरिक मामिला तथा कानुनमन्त्री ज्ञानेन्द्र यादवले प्रहरी प्रशासन सङ्घीय सरकारको मातहतमा रहेकाले प्रश्नपत्र बाहिरिने घटनाको जिम्मा सङ्घीय सरकारले लिनुपर्ने बताउनुभयो ।

प्रश्नपत्र बाहिरने घटनालाई छानविन गर्न प्रदेश सरकारले प्रदेश २ का शिक्षा निर्देशक रमाकान्त शर्माको संयोजकत्वमा समाजिक विकास मन्त्रालयका उपसचिव ठूलाबाबु दाहाल र आन्तरिक मामिलामन्त्रालयका कानुन उपसचिव अरुणकुमार झा सदस्य रहने तीन सदस्यीय समिति समेत गठन गरेको छ ।

यता संस्थागत विद्यालयको तीनवटा केन्द्रीय सङ्गठनका पदाधिकारीले शुक्रबार जनकपुरधाममा पत्रकार सम्मेलन गरी प्रदेश न २ मा लगातार रूपमा दुई दिनको प्रश्नपत्र पहिला नै बाहिरिएकोघटनालाई गम्भीर रूपमा लिँदै निष्पक्ष छानविनको माग गरेका छन् ।

गोरखापत्र अनलाइनबाट