
१ बैशाख, सुर्खेत । बौद्ध ग्रामिण बहुउद्देश्यीय सहकारी संस्था सुर्खेतका कर्मचारीहरुले नव वर्षको शुभअवसरमा शुभकामना आदान प्रदान गर्दै मानव सेवा आश्रमलाई २ लाख २० हजार सहयोग रकम हस्तान्तरण गरेको छ ।
सहयोग रकम ग्रहण गर्दै आश्रमका केन्द्रिय अध्यक्ष रामजी अधिकारीले बौद्धग्रामिण सहकारीका कर्मचारीहरु तथा संचालक समितिको कार्यको प्रशंसा गर्नुभयो ।
अव्यवस्थित सडक मानवमुक्त एव मानवीय राष्ट्र (Country Of Humanity) नेपाल निर्माणका प्रमुख अभीष्टको साथ खुल्ला आकाशमूनि सडक पेटीहरु अत्यन्त कष्टकर जीवनयापन गर्न विवश, शारिरीक तथा मानसिकरुपमा अशक्त मनोरोगी, अनाथ, अपाङ्ग, अशक्त तथा सहयोगीपेक्षी मानवहरुको उद्दार, उपचार, पालनपोषण तथा पारिवारिक पुनर्मिलन गराउने उद्देश्यले २०६९ भाद्र १३ मा मकवानपूर हेटौडाबाट मानव सेवा आश्रमको स्थापना गरेको अध्यक्ष अधिकारीले बताउनुभयो । उहाँले भन्नुभयो ‘अहिले हामीले १० जिल्लामा काम गरिरहेका छै । हामी कुनै विदेशी दातृ निकाय सँग सम्झौता गरेर काम गर्दैनौ । हामी सहयोगी मनहरुको सहयोगबाट आश्रम चलाउँदै आइरहेका छौं ।
कार्यक्रममा बौद्ध ग्रामिण सहकारीका अध्यक्ष पञ्चसिंह रोकायले मानवताको सेवा नै सबै भन्दा उच्च कार्य भएको बताउँदै आफूले पनि सबैको सहयोगले नयाँ जीवन प्राप्त गरेको बताउनुभयो ।
सचिव पासाङ्ग महतराले सहकारीका कर्मचारीहरुको काम प्रशंसा गर्दै मानव सेवामा लाग्न सबैलाई आग्रह गर्नुभयो ।
त्यस्तै कार्यक्रममा सहकारीका प्रमुख कार्यकारी अधिकृत विशाल के.सी. यूट्युवमा आश्रमको भिडियोहरु हेरपछि आफूलाई पनि सहयोग गर्ने प्रेरण मिलेको र सम्पूर्ण कर्मचारीहरुले साथ दिएपछि सहयोग जुटाउन सफल भएको बताउनुभयो ।




Milan Shrestha । १ बैशाख २०७६, आईतवार १२:४२ बजे