केपिएल २ का विजेताले ५ लाख पाउने


४ बैशाख, सुर्खेत । यही बैशाख १२ गतेदेखि कर्णाली प्रदेशको राजधानी सुर्खेतको वीरेन्द्रनगरमा हुने कर्णाली प्रिमियर लिगको प्रथम हुने विजेताले पाँच लाखको पुरस्कार पाउने भएको छ।

आयोजक कर्णाली किक्रेट एकेडेमीले आज पत्रकार सम्मेलन गरेर पुरस्कार राशी, मुख्य प्रायोजक, टिम कप्तानको नाम घोषणा गरेको हो ।

त्यस्तै उपविजेतालाई २ लाख र सर्वउत्कृट खेलाडीलाई ५० हजार,  उत्कृष्ट बलर र ब्याट्सम्यानलाई  २०/२० हजार  र उत्कृष्ट खेल प्रदर्शन गर्ने खेलाडीलाई ३ हजार ५ सय राशीको पुरस्कार दिइने आयोजकले जनाएको छ ।

पत्रकार सम्मेलनमा प्रतियोगितामा सहभागी हुने आठ टिमको कप्तानको नामपनि सार्बजनिक गरिएको छ ।

विनोद भन्डारीको कप्तान नेपाल आर्मी, मन्जित श्रेष्ठको कप्तानमा नेपाल पुलिस क्लव, ससस्त्र प्रहरीको एपिएफको कप्तानमा बसन्त रेग्मी,  रविन्द्रजंग शाहीको कप्तानमा कर्णाली ११, मेहबुब आलमको कप्तानमा लालिगुराँस किक्रेट क्लब झापा, सुरेन्द्र चन्दको कप्तानमा हिमालयन किक्रेट एकेडेमी काठमान्डौ, सुशिल खड्काको कप्तानमा महेन्द्रनगर किक्रेट क्लव र अजय साहानीको कप्तानमा मध्यपश्चिम किक्रेट एकेडेमीले आआफ्नो खेल प्रदर्शन गर्नेछन् ।

लिग अवधीभर प्रतियोगिता हेर्न आउने दर्शकहरु मध्यबाट भाग्यमानी दर्शकहरुलाई गोलाप्रथाद्वारा मोटरसाईकल, एलईडि टेलिभिजन लगायत विभिन्न पुरस्कारको व्यवस्था गरिएको संयोजक रेशम शाहीले जानकारी दिनुभयो।