नेपालभरिका तीव्र गतिका क्रिकेटका बलर खोज्न अभियानमा “वर्ल्डलिंक”


नेपालको सबैभन्दा ठूलो र विश्वसनीय इन्टरनेट सेवा प्रदायक वर्ल्डलिंकले नेपालभरका अनपोलिस्ड र तीव्र गतिका बलिङ प्रतिभालाई फेला पार्ने र हुर्काउने लक्ष्यसहितको राष्ट्रव्यापी क्रिकेट अभियान “बिट द स्पीड: सिजन २” को औपचारिक सुरुवात आज मुलपानी क्रिकेट मैदानबाट गरेको छ ।  अभियानको शुभारम्भ नेपाल राष्ट्रिय क्रिकेट टोलीका खेलाडीहरू सोमपाल कामी, अनिल कुमार साह, आसिफ शेख, र ललित राजवंशीले संयुक्त रूपमा गाडी झन्डा देखाएर गर्नुभएको हो ।

बिट द स्पीड गाडी पहिलो गन्तव्य जनकपुरतर्फ प्रस्थान गरिसकेको वर्ल्डलिंकले जनाएको छ ।  यो यात्रा पूर्वको लहान, राजविराज, बिर्तामोड, दमक, विराटनगर, इटहरी, बर्दिबास, मलंगवा, गौर, बीरगञ्ज, हेटौंडाका साथै पश्चिमको चितवन, बुटवल, भैरहवा, लुम्बिनी, पाल्पा, घोराही, नेपालगञ्ज, सुर्खेत, धनगढी, महेन्द्रनगर, पोखरा हुँदै अन्तमा काठमाडौं फिर्ता हुनेछ । जहाँ ग्रान्ड फिनाले आयोजना गरिनेछ आयोजकले जानकारी दिएको छ ।

कार्यक्रमको ग्रान्ड फिनालेमा प्रथम विजेताहरुलाई नगद रु. १ लाख र भारतको प्रतिष्ठित क्रिकेट एकेडेमीमा ३ महिनाको पूर्ण खर्च व्यहोरिएको प्रशिक्षण कार्यक्रममा सहभागी गराउनेछ  । त्यस्तै पहिलो उपविजेतालाई नगद रु. ५० हजार र दोश्रो उपविजेतालाई नगद रु. २५ हजार प्रदान गर्ने वर्ल्डलिंकले जनाएको छ ।

क्रिकेटप्रतिको लगावलाई डिजिटल कनेक्सनको उद्देश्यसँग जोड्दै, वर्ल्डलिंकको बिट द स्पीड अभियानले स्थानीय समुदायलाई सक्रिय बनाउने, उदाउँदा खेलाडीहरूलाई सशक्त बनाउने र नेपालको आगामी पुस्ताका क्रिकेट स्टारहरूका सपना साकार पार्ने लक्ष्य लिएको छ ।