चालु आर्थिक बर्षको बजेट खर्च गर्न नसकिने अवस्थाः मन्त्री खत्री


८ बैशाख, सुर्खेत । कर्णाली प्रदेशका भौतिक पूर्वाधार विकासमन्त्री खड्क बहादुर खत्रीले चालु आर्थिक बर्षको बजेट खर्च गर्न सकिने अवस्था नरहेको बताउनुभएको छ ।

कर्मचारीको अभाव र आवश्यक कानुनको अभावमा विकासे बजेट खर्च हुने अवस्था नरहेको मन्त्री खत्रीको भनाई छ । चिङ्गाड एकता समाज सुर्खेतले गरेको शुभकामना आदान प्रदान कार्यक्रममा मन्त्री खत्रीले कर्णाली प्रदेशका स्थायी बसोबास भएका कर्मचारीले पनि कर्मचारी समायोजनामा कर्णाली प्रदेशलाई नरोजेको भन्दै असन्तुष्टी व्यक्त गर्नु भयो । उहाँले संघिय सरकारले चाहिने कानुन नबनाउदा प्रदेश सरकारले कानुन बनाउन नसकेको जसका कारण बजेट कार्यन्वयनमा समस्या भएको बताउनुभयो ।

संघिय राजधानी सुर्खेतको विकट क्षेत्र चिङ्गाडलाई कसैले पनि नहेरेको र नजर पनि नगएको भन्दै विकासका लागि आफूले सक्दो सहयोग गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो । सुर्खेतले नै चिन्न नसकेको क्षेत्र चिङ्गाड भएको भन्दै यूवाहरले हरेक ठाँउमा खबरदारी गर्नु पर्ने उहाको भनाई थियो । मन्त्री खत्रीले चिङ्गाडका समस्यालाई लिपीवद्ध गर्न आवश्यक रहेको भन्दै सोही अनुसार योजना बनाएर अघि बढ्नु पर्नेमा जोड दिनु भयो । चिङ्गाडलाई सडक सञ्जालले जोड्ने प्रतिवद्धता व्यक्त गर्दै मन्त्री खत्रीले चिङ्गाड एकता समाजसंग सहकार्य गरेर अघि बढ्न तयार रहेको जानकारी दिनुभयो ।

चिङ्गाड गाँउपालीकाका अध्यक्ष देवबहादुर चन्दले विकासका लागि प्रदेश सरकार र स्थानीय तह बिच समन्वय हुन आवश्यक रहेकोमा जोड दिनु भयो ।उहाँले प्रदेशसरकारका आफ्ना समस्याका कारण विकासमा समन्वय हुन नसकेको भन्दै समन्वय र सहकार्यका लागि सधै तयार रहेको बताउनुभयो ।

एनजिओ आईएनजिओले गाँउपालिका संग मिलेर काम गर्न नचाहेको र काम राम्रो संग नगरेको समेत चन्दले बताउनुभयो । गाँउपालीकाको योजना विना काम चलाउ तरिकाले काम गर्न नदिएकाले पनि संस्थाहरु पालिकामा आउन नचाहेको पनि अध्यक्ष चन्दको भनाई छ । एकता समाजले सबै विचार क्षेत्र समेटेर जानुपर्ने भन्दै चन्दले विकासका लागि समाजसंग सकारात्मक सोचका साथ हातेमालो गर्न तयार रहेको जानकारी दिनुभयो ।

नेकपाका कर्णाली प्रदेश कमिटी सदस्य कृष्ण जिसीले गाँउ पालिकाको विकासका लागि बाहिरका मानिस आकर्षित गर्ने खालका कार्यक्रम बनाउन जरुरी रहेको बताउनुभयो । पर्यटन क्षेत्रको विकासका लागि जिम्मावारीमा रहेका जनप्रतिनिधिले काम गर्नु पर्ने भन्दै विकासका लागि आवश्यक सहयोग गर्न तयार रहेको जानकारी दिनुभयो । साथै उहाँले चिङ्गाडक्षेत्रमा लगानी भित्रयाउन सबैको पहल आवश्यक रहेकोमा जोड दिनु भयो ।

त्यस्तै चिङ्गाड ग्रामिण विद्युत सहकारी अध्यक्ष जीतबहादुर रानाले चिङ्गाड क्षेत्रमा छिट्टै बत्ति बल्ने गरी सहकारीले पहल गरिरहेको भन्दै सबैको सहयोगको अपेक्षा गरेको बताउनुभयो ।

कार्यक्रममा चिङ्गाड एकता समाजका अध्यक्ष धर्मराज जिसीले सो क्षेत्रमा गर्नु पर्ने विकासमा प्राथमिकरण र एकता समाजले गर्ने कामका बारेमा प्रष्ट पार्नु भएको थियो ।