बारा र पर्साका हावाहुरी प्रभावितको आवास सेनाले निर्माण गर्ने


१२ बैशाख, काठमाडौं । गत साल २०७५ चैत्र १७ गते पूर्वी बारा र पर्सामा आएको हावाहुरीबाट क्षती भएका घरहरुको पुनःनिर्माण गर्ने जिम्मेवारी नेपाल सरकारले नेपाली सेनालाई दिइने निर्णय गरेको छ ।

पुनःनिर्माणकालागि सरकारले सेनालाई करिव ८४ करोड ६८ लाख बजेट दिने निर्णय गरेको सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटाले आज सिंहदरवारमा आयोजित पत्रकार सम्मेलनमा जानकारी दिनुभएको छ ।

१४ सय ५३ घरहरुको पुननिर्माणका लागि आवश्यक ८४ करोड ६८ लाख ७६ हजार १ सय ४० रुपैयाँ नेपाली सेनालाई उपलब्ध गराउने मन्त्रिपरिषद्को निर्णय गरेको मन्त्री बाँस्कोटाले बताउनुभयो ।

वर्षा अगाडी नै हावाहुरी पिडितहरुको आवास पुनःनिर्माण नेपाली सेनाले गरिसक्ने मन्त्री बाँस्कोटाले विश्वास व्यक्त गर्नुभयो ।

स्मरणरहोस २०७५ गत चैत १७ गते आएको हावाहुरीबाट २९ जनाको मृत्यु, ६ सय हाराहारीमा घाइते भएका थिए भने सयौं घरमा क्षति पुगेको थियो । विनासकारी हावाहुरी मौसमविदहरुले ‘टोर्नाडो’ भएको पुष्टी गरेका थिए ।