६२ वर्षपछि एसियाली फुटबलको पहिलो आधिकारिक प्रतियोगिता जितेर घर फर्किएको नेपाली राष्ट्रिय फुटबल टोलीका सदस्यलाई बुधबार राती भब्य स्वागत गरिएको छ। मंगलबार मकाउलाई १–० ले हराउदै नेपालले एएफसी सोलिडारिटी कपको उपाधि जितेको थियो।
बुधबार राती साढे ८ बजे काठमाडौंको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उत्रिएको नेपाली टोलीलाई बाहिर करिब हजारको संख्यामा आएका फुटबल समर्थकले भब्य स्वागत गरे। बुधबार राती नै नेपाली टोलीलाई बसमा राखेर नगर परिक्रमा गराइएको थियो।
नेपालले यस वर्ष खेलेको तीनवटा प्रतियोगितामा तीनवटै उपाधि जितेर अर्को इतिहास रचेको थियो। सन् १९५४ मा एएफसीको सदस्यता प्राप्त गरेपछि नेपालले सोलिडारिटी कपअघिसम्म एएफसीको कुनै आधिकारिक प्रतियोगिता जितेको थिएन्।
नेपाली खेलाडीलाई सोलिडारिटी कपको उपाधिसँगै देखेका नेपाली फुटबल समर्थकले फुटबल खेलाडी र फुटबलको जय जयकार नारा लगाएका थिए।
साभारः सेतोपाटी अनलाइन



Prawash Kumar Shakya । २ मंसिर २०७३, बिहीबार ०२:५२ बजे