
२७ बैशाख, सुर्खेत । कर्णाली प्रदेश प्रदेश सरकारले कृषि क्षेत्रमा उत्कृष्ट उत्पादक नायक नायिका घोषणा गर्न लागेको छ । भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले अर्गानिक वस्तु उत्पादनमा उत्कृष्ट कार्य गर्ने दुइ जना व्यक्तिलाई नायक नायिका घोषणा गर्न लागेको हो ।
अर्गानिक बस्तु उत्पादनमा कृषकहरुलाई हौसला दिन उत्कृट उत्पादन नायक नायिका घोषणा गर्न लागेको मन्त्रालयका मन्त्री विमला केसीले जानकारी दिनुभयो । सरकारको लक्ष्य अर्गानिक उत्पादनलाई प्रवर्द्धन गर्न कार्यक्रम सञ्चालन गरिरहेको बताउँदै मन्त्री केसीले अर्गानिक खेतीमा लागिराख्नु भएका दुई उत्कृष्ट उत्पादकलाई पुरस्कृत गर्ने तयारी गरेको जनाउनु भयो ।
अर्गानिक खेतीतर्फ कृषकलाई आकर्षित गर्न यो अभियानले थप सहयोग पुग्ने अपेक्षा मन्त्री केसीको छ । मन्त्रालयले उत्कृष्ट उत्पादक नायक नायिका छनौट गर्न कार्यविधि नै बनाएको छ । सोही कार्यविधि अनुसार प्रतिस्पर्धाबाट प्रदेशबाट दुईजना उत्कृष्ट नायक नायिका सरकारले घोषणा गर्नेछ ।
‘मापदण्डमा रहेर जिल्लास्थित ज्ञान केन्द्रले प्रदेशका दश जिल्लाबाट एक/एक महिला र पुरुष छनौट गर्नेछन्’ मन्त्री केसीले भन्नुभयो, ‘उनीहरु मध्य प्रतिस्पर्धाबाट दुईजनालाई प्रदेश सरकारले उत्कृष्ट उत्पादक नायक नायिका घोषणा गरेर पुरस्कृत गर्नेछ ।’ मन्त्रालय अर्गानिक विशेष कार्यक्रमतर्फ ७० लाख बजेट विनियोजन गरेको छ ।

‘कृषक नाममा रजाईँ चल्दैन’
मन्त्री केसीले कृषकको नाम बेचेर अनुदानको रकममा मनपरी गर्नेको दादागिरी अन्त्य भएको बताउनुभयो । उहाँले माथिदेखी तलसम्म सेटिङ्ग गरेजस्तो देखिने तर कृषकले अनुदान रकम कहिल्यै नपाउने संस्कारको अन्त्य गर्न लागेको जानकारी दिनुभयो । ‘कृषकको नाम बचेर अनुदान रकममा मोज गर्नेको रजाईँ अब चल्दैन’ मन्त्री केसीले थप्नुभयो, ‘मन्त्रालयले अबदेखी वास्तविक कृषक कै हातमा अनुदान रकम दिनगरी लागिरहेको छ ।’ काम गरेको आधारमा कृषकहरुलाई प्रोत्साहन अनुदान दिइने पनि मन्त्री केसीले स्पष्ट पार्नुभयो ।
कृषक-कृषकविच व्यवसायिक प्रतिस्पर्धा गराएर उत्पादन क्षेत्रमा आकर्षण बढाउन सस्तो ऋणको व्यवस्था गर्न लागेको उहाँको भनाई छ । कृषक पेशामा लागेकै भरमा अपमानित हुन नपर्ने गरी मन्त्रालयले श्रमप्रतिको सम्मान हुने कार्यक्रम सञ्चालन गरिरहेको मन्त्री केसीले उल्लेख गर्नुभयो ।
अनुदानसंगै विमा अनिवार्यः सचिव भारी
कृषकलाई दिइने अनुदान रकमसंग अबदेखी विमा पनि अनिवार्य गर्न लागिएको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयका सचिव राजेन्द्र भारीले बताउनुभयो । व्यवसायी योजना निर्माण तथा कृषि विमा कृषक स्तर तालिममा बोल्दै भारीले अनुदानसंगै विमा कार्यक्रमलाई अनिवार्य गर्ने नीति अवलम्बन गरिन लागिएको जानकारी दिनुभयो ।
प्रदेशस्तरिय अनुसन्धान केन्द्रलाई उच्चतम उपयोग गर्न स्रोत साधनमा अब्बल बनाइने र थप खोल्ने तयारीमा रहेको उहाँको भनाई छ । कर्णालीमा प्राङगारिक विशेषज्ञ राख्ने गृहकार्यमा मन्त्रालय लागेको बतानुभएको भारीले उत्पादन र उत्पादकत्व क्षेत्र बढाउन कृषक लक्षित विशेष कार्यक्रम लागु गर्ने उल्लेख गनुभयो ।
सिँचाई कृषिको मेरुदण्ड भएकाले मन्त्रालय मातहत ल्याउने गृहकार्य शुरु गरिएको बताउनुभयो । कृषकले उत्पादन गरेका वस्तुहरुको बजारीकरण र संकलन गर्न छोटो दुरीका कृषि सडक योजनाहरुलाई विशेष प्राथमिकतामा मन्त्रालयलले राखेको उल्लेख गर्नुभयो । ६ दिनसम्म सञ्चालन भएको तालिममा कर्णालीका १० जिल्लाका कृषकहरुको उपस्थिति रहेको थियो ।
तालिम कृषि व्यवसाय प्रवर्द्धन सहयोग तथा तालिम केन्द्रले आयोजना गरेको केन्द्रका निमित्त प्रमुख पूर्णलाल सापकोटाले जानकारी दिनुभयो ।



Milan Shrestha । २७ बैशाख २०७६, शुक्रबार १८:४७ बजे