कार्यालय प्रमुखकै कार्यकक्षमा तालिम सञ्चालन


११ जेठ सुर्खेत,

‘काम त अहिले पनि गरिरहेकै छौं तर के गर्ने, निकै अप्ठ्यारो परिस्थितिबाट । नगरौं भने नहुने र गरौं भने आवश्यक पूर्वाधार एवं स्रोत साधनको अभावै अभाव छ,’ कार्यालय प्रमुख कृष्णप्रसाद पंगेनीले भन्नुभयो ।

पंगेनी कर्णाली प्रदेश सरकार भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय, पशुपन्क्षी तथा मत्स्य विकास निर्देशनालयअन्तरगत पशुसेवा तालिम केन्द्र सुर्खेतमा कार्यालय प्रमुखकारुपमा कार्यरत हुनुहुन्छ । अभावका बीचबाट काम गर्नुपर्दा सेवाग्रहीलाई भने जस्तो सेवा दिन नसकिएको उहाँले बताउनुभयो ।

१२ कर्मचारी दरबन्दी भएको यस तालिम केन्द्रमा अहिले दुईजनाले काम गर्नुपर्ने बाध्यता छ । “न आफ्नै तालिम केन्द्रको भवन छ नत दरबन्दी अनुसारको कर्मचारी,” रासससँग दुखेसो पोख्दै उहाँले भन्नुभयो । भेटेनरी अस्पताल तथा पशुसेवा विज्ञको अति पुरानोलाई भवनलाई मर्मतगरी आफ्नै कार्यकक्षमा प्रदेशस्तरीय तालिम सञ्चालन गरिएको प्रमुख पंगेनीले बताउनुभयो । उहाँले अगाडि भन्नुभयो, “एक उपसचिवसहित ४ अधिकृत, ३ प्रा.स. कर्मचारी मात्रै छौं ।

प्रदेशस्तरीय तालिम केन्द्रको कार्यालयमा मन्त्रालयको पुराना कुर्ची, सोफासेट ल्याएर काम चलाएको छु । सवारी साधन पनि नहुँदा आवातजावात गर्न त्यत्तिकै अप्ठ्यारो भएको छ ।” कामगर्ने अनुकूल वातावरण नभएपनि आफ्नो दायित्व पुरा गरेको उहाँको भनाई थियो । उहाँका अनुसार आफ्नै कार्यकक्षमा भएपनि कर्मचारी र व्यवसायिक किसान गरेर १२४ जनालाई तालिम प्रदान गरिएको छ । असार पहिलो सातासम्म ११० प्रतिशत प्रगति देखाउने उहाँको दावी थियो ।

ज्ञान, सीप र प्रविधि प्रवाह गर्ने तालिम केन्द्रको यो हालतले भने काम गर्न कठिन भएको उहाँको गुनासो थियो । यता भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री बिमला केसीले कर्मचारीले गाह्रो परिस्थितिसँग जुधेरपनि काम गरेको भन्दै धन्यवाद ज्ञापन गर्नुभयो । प्रदेश सरकारले नीति तथा कार्यक्रम बनाउँदै गरेको जनाउँदै उहाँले तालिम केन्द्रको भौतिक आवश्यकता, आगामी चालु आवमा सञ्चालन गर्ने विशेष योजना र कार्यक्रम तयार पारेर जतिसक्दो छिटो दिन उहाँले कर्मचारीलाई निर्देशनात्मक सुझाव दिईएको बताउनुभयो ।