प्रदेश सरकारको नीति निर्माणमा स्वास्थ्यलाई जोड दिन्छौः सांसद नेपाली


३० जेठ, सुर्खेत । कर्णाली प्रदेशका सांसद एंव सामाजिक विकास समितिका संयोजक राजु नेपालीले कर्णाली सरकारको नीतिमा स्वास्थ्य क्षेत्रलाई जोड दिने बताउनुभएको छ ।

सामुदायिक सुधार संस्थाको समन्वयमा गुट्माकर इन्ष्टिच्यूट वातावरण स्वास्थ्य र जनसंख्या कार्यक्रम अनुसन्धान केन्द्र (कृपा) ले आयोजना गरेको प्रदेश स्तरको छलफल कार्यक्रममा सांसद नेपालीले यस्तो बताउनुभएको हो ।

‘प्रदेश सरकारको नीति निर्माणमा स्वास्थ्यलाई जोड दिन्छौ’ सांसद नेपालीले भन्नुभयो, ‘भौतिक विकास मात्र विकास होइन त्यसैले स्वास्थ्य क्षेत्रलाई पनि विशेष प्राथमिकता दिन्छौ ।’ प्रदेश सरकारले ल्याउन लागेको स्वास्थ्य सम्बन्धी नीतिमा स्वास्थ्य, त्यसमा पनि महिलाको प्रजनन् स्वास्थ्यलाई जोड दिने नेपालीको भनाई थियो ।

कार्यक्रममा जनस्वास्थ्य प्रमुख धिरजंग शाहले अन्य क्षेत्रमा जस्तै गरी स्वास्थ्य क्षेत्रमा पनि लगानी गर्न आवश्यक रहेको बताउनुभयो । प्रदेश अस्पतालका नर्सिङ प्रमुख दिपा भट्टर्राईले किशोरी आमाकाको संख्या बढेको बताउनुभयो । अस्पतालमा गर्भपतन गर्न आउने अधिकांस किशोरीहरु रहेको उहाँले बताउनुभयो ।

वीरेन्द्रनगर नगरपालिकाका नगर स्वास्थ्य संयोजक उदय थापाले नगरपालिकाले प्रसुतीमा जटिल समस्या आएर बाहिर रेफर गर्नुपरेमा यातायात खर्च उपलब्ध गराउने भएतापनि सेवा लिन कम मात्रामा आइरहेको बताउँदै एक वर्षे अवधिमा ६/७ जनाले मात्र सेवा लिएको जानकारी दिनुभयो ।

कार्यक्रममा कृपा नेपालका कार्यक्रम अधिकृत कुसुम वाग्लेले संस्थाले अनुसन्धान गरेका विषयवस्तुको बारेमा जानकारी दिनुभएको थियो ।