२६ फागुन, झापा । प्रधानमन्त्री केपी शर्मा ओलीले कांग्रेसले सरकारको नेतृत्व गर्ने बेला नभएको बताएका छन् । अहिले सरकार परिवर्तनको एजेण्डा नै नभएको भन्दै उनले आफ्नै नेतृत्वको सरकारमा सहभागी हुन कांग्रेसलाई आग्रह गरे ।जिल्ला विकास समिति झापाले बुधबार आयोजना गरेको एक कार्यक्रममा प्रधानमन्त्री ओलीले भने, ‘सरकारको नेतृत्व अहिले नेपाली कांग्रेसले गर्ने बेला भएको छैन । तर १६ बुँदे सहमतिअनुसार नेपाली कांग्रेस सरकारमा सामेल हुनैपर्छ ।’
विगतमा भएको १६ बुँदे सहमतिअनुसार सरकारमा सहभागी भएर राष्ट्रिय एकताको साथ अघि बढ्न उनले कांग्रेसलाई सुझाव दिए ।
केही वर्ष भित्र जनताले प्रत्यक्ष परिवर्तनको आभास गर्ने गरी विकासलाई तिव्रता दिए पनि आफूले इच्छा गरेअनुसार मलुकको विकासमा काम गर्न नपाएको उनले गुनासो गरे ।
मतव्यको अधिकाश समय देशको विकास, निर्माणका संभाव्यता देखाउनु खचिएका ओलीले कृषिको आधुनिकिकरण, बजारीकरण, उद्योगहरुको स्थापना र विकासमा सरकार केन्दि्रत भइरहेको दोहोर्याए । अहिलेको सरकार पूर्वपश्चिम राजमार्ग ६ लेनको बनाउने कार्यमा जुटेको बताउँदै उनले त्यसका लागि मिलिनियम च्यालेन्ज कर्पोरेसन नामक अमेरिकन कम्पनीसँग कुराकानी भइरहेकाले चाँडै सम्झौता हुने विश्वास व्यक्त गरे ।
मेची पर्यटन अभियानको उदघाटन गर्न झापा आएका ओली ६ दिनसम्म मेची अञ्चलका बिभिन्न कार्यक्रममा सहभागी हुनेछन् ।
साभारः अनलाइन खबर



Milan Shrestha । २६ फाल्गुन २०७२, बुधबार १३:३३ बजे