झुटो दाबी गर्ने भारतीय दम्पती बर्खास्त


संसारको सर्वोच्च शिखर सगरमाथा चढ्ने पहिलो भारतीय जोडी बनेको झुटो दाबी गरेका एक दम्पतीलाई भारतीय प्रहरीले आफ्नो सेवाबाट बर्खास्त गरेको छ।

दिनेश र तारकेश्वरी राठौडले अघिल्लो साल आफूहरुले सफलतापूर्वक सगरमाथा चढेको बताएका थिए।

तर भारतको महाराष्ट्र राज्यका अधिकारीहरुले सोमबार उक्त दम्पतीले जोडजाड पारिएको तस्वीर प्रयोग गरेर आफूले सगरमाथाको सफल आरोहण गरेको दाबी गरेको निष्कर्ष निकालेको छ।

उक्त दम्पतीले सगरमाथाको आरोहण गरेको बिषयको सत्यतामा अरु आरोहीहरुले प्रश्न उठाएपछि छानबिन अघि बढाइएको थियो।

प्रतिष्ठा

महाराष्ट्र राज्यका अतिरिक्त कमिश्नर सेहिब्राओ पाटिलले पीटीआई समाचार संस्थालाई उक्त दम्पतीले गलत सूचना दिएर महाराष्ट्र प्रहरीको प्रतिष्ठामा आँच पुर्याएको प्रतिक्रिया दिए।

अब उक्त दम्पतीविरुद्ध कुनै थप कारबाही गरिन्छ कि गरिदैँन स्पष्ट भइसकेको छैन्।

भारत

यसअघि नै नेपाली अधिकारीहरुले उनीहरुले झुटो दाबी पेश गरेको निष्कर्ष निकाल्दै उनीहरुलाई १० वर्षका लागि पर्वतारोहणमा प्रतिबन्ध लागाइसकेका छन्।

नेपालको पर्यटन विभागले सुरुमा उनीहरुको आरोहणलाई मान्यता दिएपछि अनुसन्धानपछि त्यसलाई रद्द गरेको थियो।

सुरुमा राठोड दम्पतीले संवाददातालाई उक्त तस्वीर वास्तविक भएको बताएका थिए।

तस्वीर

तर भारतको बैंगलौर बस्ने अर्का पर्वतारोही सत्यरुप सिद्धान्थले उक्त दम्पतीले प्रमाणका रुपमा प्रस्तुत गरेको तस्वीर आफूले आरोहण गर्दा खिचेको बताएका थिए।

उनीहरुले हिमाल आरोहण सम्पन्न गरेको समय र आफ्नो उपलब्धि सार्वजनिक गर्न आयोजना गरेको पत्रकार सम्मेलनको समयबीचको अन्तर अमिल्दो देखिएपछि थप शंकाहरु व्यक्त भएका थिए।

सगरमाथा आरोहण सम्पन्न गरि त्यति छोटो समयमा आधार शिविर फर्कन नसकिने निष्कर्ष निकालिएको थियो।

साथै उनीहरुले पेश गरेको तस्वीरमा देखिएका र आरोहणका क्रममा लगाएका पोशाक तथा जुत्ता फरक पाइएको थियो।

साभारः विविसी