अस्पतालबाटै नवजात शिशु किनबेच, दुई स्वास्थ्यकर्मीसहित एक महिला पक्राउ


काठमाडौं– लाहानको लवकुश अस्पतालमा  नवजात शिशु किनबेच गर्ने गरेको प्रहरीले फेला पारेको छ । लाहान प्रहरीका डिएसपी उमाप्रसाद चतुर्वेदीको टोलीले शनिवार राति शिशु किनबेच भइरहेको अवस्थामा दुई स्वास्थ्यकर्मीसहित एक महिलालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा एक नर्स र एक सिएमए रहेका छन् । अस्पतालको दोस्रो तलाको अँध्यारो कोठामा शिशुसहित एक एक महिला लुकेर बसेको अवस्थामा करिब साढे आठ बजे प्रहरीले पक्राउ गरेको हो । डिएसपी चतुर्वेदीका अनुसार अवैध सम्बन्धबाट जन्मिएका शिशुहरु सो अस्पतालबाट खरिदविक्री हुने गरेको थियो । उनका अनुसार अस्पतालकै मिलेमतोमा शिशु खरिदविक्री हुने गरेको हो । विक्री हुन लागेका शिशुलाई विराटनगरस्थित ग्लोवल अस्पतालमा प्रहरीको निगरानीमा राखिएको छ । यो धन्दा अन्य अस्पतालमा समेत भइरहेको हुनसक्ने प्रहरीको आशंका छ । 
साभारः स्वास्थ्य खबर पत्रिका