महामन्त्रीमा कोइराला, कोषाध्यक्षमा यादव विजयी


नेपाली कांग्रेसमा महामन्त्री पदका लागि भएको रोमाञ्चक त्रिकोणात्मक भीडन्तबाट अन्तत: कांग्रेसका संस्थापक बीपी कोइराला पुत्र शशांक कोइराला निर्वाचित भएका छन्।
त्यसैगरी कोषाध्यक्षमा सीतादेवी यादव निर्वाचित भएकी छन्।
शेरबहादुर देउवा सोमबार मध्य राती सभापतिमा निर्वाचित भएपनि मंगलबार दुई महत्वपूर्ण पदमा उनको विपरित प्यानलका उम्मेदवार निर्वाचित भएका छन्।
पार्टीभित्र चर्चित पात्रहरु बीपी पुत्र शशांक कोइराला, युवा नेता गगन थापा र उनका ससुरा अर्जुन नर्सिंह केसी उम्मेदवार रहेकाले महामन्त्रीको चुनावको परिणाम धेरैको पर्खाइ बनेको थियो।

विजय

मतदान अघिका दिनमै कैयौं महाधिवेशन प्रतिनिधिहरुले सभापतिमा शेरबहादुर देउवा र महामन्त्रीमा कोइराला भनेर खुलेरै बोल्ने गरेका थिए।
अन्तत: मतपरिणाम त्यस्तै आयो, शशांकले उनका निकटतम प्रतिद्वन्द्वी अर्जुन नरसिंह केसी भन्दा चार सय बढी कुल १४ सय १७ मत प्राप्त गरे।
कांग्रेस संस्थापक नेता बीपी कोइरालाका चिकित्सक छोरा शशांकले आफ्नो डाक्टरी पेशा त्यागेर सक्रिय राजनीति शुरु गरेको एक दशक पनि भएको छैन।
राजनीतिमा प्रवेश गरे लगत्तै भएको संविधान सभाको पहिलो निर्वाचनमा उनी नवलपरासीबाट विजयी भएका थिए।

‘प्रतिगमनकारी’

कांग्रेस महाधिवेशनको चुनाव हुने केहि दिन अघि मात्र बीबीसीसँगको अन्तरवार्तामा उनले कैयौंका दृष्टिमा प्रतिगमनकारी लाग्ने गणतन्त्र, धर्म निरपेक्षता र संघीयता विरोधी धारण स्पष्ट शब्दमा व्यक्त गरेका थिए।
अनौठो के छ भने ठीक उनको धारणा विपरित नीति लिएर दोस्रो संविधानसभा निर्वाचनबाट सबभन्दा ठूलो पार्टी बनेको नेपाली कांग्रेसका मतदाताहरुलाई उनको अभिव्यक्तिले कुनै असर पारेको देखिएन।
बीपी पुत्र शशांकमा कैयौंले बीपीकै छायाँ देखेकाले हुनसक्छ उनले आफ्ना प्रतिद्वन्द्वीलाई निकै पछाडि पार्दै विजयी बने।
त्यसैगरी पार्टीकी चर्चित तर पछिल्लो समयमा विवादमा तानिएकी युवा नेतृ तथा निर्वतमान कोषाध्यक्ष चित्रलेखा यादवलाई ८ मतले पराजित गर्दै सीतादेवी यादव कोषाध्यक्षमा निर्वाचित भएकी छन्।
श्रीमानलाई सशस्त्र द्वन्दवकालमा माओवादीले मारिदिएपछि राजनीतिमा प्रवेश गरेकी उनी तराई आन्दोलनबाट पनि पीडित थिइन्, उनको घर जलाइएको थियो।
त्यसपछि सिराहा जिल्लामा दुई कार्यकाल जिल्ला सभापति बनेकी उनी कांग्रेसकी पहिलो महिला जिल्ला सभापतिसमेत हुन्।
हाल सभासद रहे पनि पार्टीको केन्द्रीय समितिमा यसअघि नपुगेकी यादव पहिलोपटकमै महत्वपूर्ण निर्वाचित कोषाध्यक्ष बन्न सफल भएकी छन्।
अंगिकृत नागरिक भए पनि उनी सबभन्दा ठूलो पार्टीको महत्वपूर्ण पदाधिकारीमा निर्वाचित हुनुलाई महत्वका साथ हेरिने छ।

देउवाको जित

कांग्रेसको यो अधिवेशनपछि कांग्रेस पार्टी कोइरालाहरुको नेतृत्वबाट बाहिर आएको छ।
तर अदालतले भ्रष्टाचारी ठहर गरेर जेल सजाय भोगिसकेका नेताहरु र भ्रष्टाचारमा लिप्त भन्ने आरोप लागेका कैयौं नेताहरुलाई दायाँ-बायाँ अगाडि-पछाडि राखेर उम्मेदवारी घोषणा गरेका देउवाको जित भएको छ।
तुलनात्मक रुपमा छबि राम्रो भएका र वीपी कोइरालाले प्रतिपादन गरेको समाजवादको सिद्धान्तलाई व्याख्या गर्न सक्ने भनेर चिनिएका पौडेललाई दोश्रो चरणको मतदानमा पार्टीका प्रतिनिधिले झन् पछाडि पारिदिए।
यसले बाहिर जतिसुकै भ्रष्टाचार विरोधी कुरा भए पनि कांग्रेस पार्टीभित्र भष्टाचारको विषय प्रधान नरहेको संकेत गर्दछ।
त्यस्तै लेखेर बोलेर राजनीतिमा नविन विचारको सैद्धान्तिक व्याख्या दिनसक्ने भनिएका र अघिल्लो महाधिवेशनमा सबभन्दा बढि मत प्राप्त गरेका युवा नेता गगन थापा तेस्रो हुनुले कांग्रेसमा युवा पुस्तालाई नेतृत्व खोस्न सहज छैन भन्ने पनि प्रष्ट पारिदिएको छ।
साभारः विविसी