
८ कार्तिक, सुर्खेत । सुर्खेतको सिम्ता गाउँपालिका वडा नम्वर ९ खानिखोलामा विगत लामो समयदेखि टेलिफोनको समस्या देखिएको छ ।
सिंगो वडाका नागरिकहरु नेपाल टेलिकमको सिडिएमए प्रविधीको स्काई टेलिफोन सेवा वाहेक अन्य टेलिफोन सेवावाट बञ्चित छन् ।
हालसम्म पनि खानिखोला विद्युत सञ्जालमा जोडिन नसक्दा टेलिफोनको निकै समस्या भएको हो ।
हाल स्काई फोन वाहेक नेपाल टेलिकमको नमस्ते र एनसेल लगायत हेल्लो नेपालको सेवा सुचारु हुन नसक्दा त्यस क्षेत्रका नागरिक टेलिफोन सेवाबाट बञ्चित छन् ।
हाल स्थानीय भोटेचुलीमा स्काईको मात्र टावर छ, जसमा सोलार व्याट्रिको प्रयोगबाट सञ्चालन भैरहेको छ, दिनमा घाम नलाग्दा बादल लाग्दा स्काई टेलिफोन सेवापनि बन्द हुने गर्दछ । पानी परेको समयमा दिनभर नै स्काई फोनले काम नगर्दा त्यस क्षेत्रका नागरिक टेलिफोन समस्यामा परेका छन् ।
न काम पर्दा फोनले काम गर्छ, मध्य दिनमा ३/४ घण्टाको लागि मात्र स्काई फोनले मात्र काम गर्छ खानिखोलाका स्थानीय युवा मिनबहादुर बस्नेतले भन्नुभयो ।
त्यहाँ वडा नम्वर ९ को कार्यालय छ, स्काई बाहेक अन्य सिमले काम गर्दैन, वडाबाट हुने सेवा प्रवाहहरु नागरिकलाई जानकारी दिनपनि फोनको समस्याले अप्ठ्यारो समेत भएको छ ।
वडा नम्वर ९ खानीखोला कार्यालयका वडा सचिव डोल्पा सुनारले टेलिफोन र ईन्टरनेटका कारण काम गर्न अत्यन्तै समस्या हुने गरेको बताउनुभयो । अहिले व्याकअप राखेका छौ, कहिलेकसो वाईफाई चल्छ, धेरै समय त इन्टरनेट नहुदाँ काम गर्न समस्या हुन्छ, उहाँले भन्नुभयो । टेलिफोन समस्या कै कारण वडाबाट प्रवाह गर्ने सेवा सुविधाहरु नागरिक समक्ष पु¥याउन अत्यन्तै कठिन भएको जानकारी दिनुभयो ।
गाउँपालिकाबाट हुने महत्वपुर्ण कार्यक्रमहरु टेलिफोन नलनगे कै कारण छुट्ने गरेको सुनारले बताउनुभयो । यस अघिपनि वालवालिकाहरुको भत्त वितरण गर्दा गाउँपालिकाका अन्य वडामा पहिले वितरण भएको तर खानीखोलामा टेलिफोन समस्याका कारण ढिलागरी वितरण गरिएको उहाँले बताउनुभयो ।
खानिखोला स्थित भोटेचुलीमा विगतदेखि नै स्काई फोनको टावर छ तर हाल उक्त टावरले बेला बेला मात्र सेवा दिने गरेको स्थानीय बताउछन् ।
गाउँपालिकाका अध्यक्ष कविन्द्रकुमार केसीले टेलिफोन समस्याको समाधान गर्न स्थानीय सरकारको अधिकार नभएको बताउनुभयो । उहाँले आफुहरुले सम्बन्धित निकाय संग पहल र प्रयत्न गर्नु बाहेक यो स्थानीय निकायको क्षेत्राधिकार भित्र नपरेको बताउनुभयो ।
केसीले सम्बन्धित निकायसंग खानीखोला लगायत अन्य वडाका विभिन्न स्थानहरुमा टेलिफोन टावर निर्माण गर्ने वारेमा पहल गरिरहेको जानकारी दिनुभयो ।
यस्तै, प्रदेश सभा सदस्य ठम्मर विष्टले आफुले दशै लगत्तै यस विषयमा राजधानी वीरेन्द्रनगर आएर सम्बन्धित अधिकारीहरुसंग छलफल गरेको प्रतिक्रिया दिनुभयो । उहाँले अहिले देशभरका केही स्थानमा टेलिकमले ४ जी सेवा विस्तार गरिरहेको र राजधानी वीरेन्द्रनगरमा त्यो लागू भएको बताउनुभयो ।
सांसद विष्टले वीरेन्द्रनगर पछि सबैभन्दा पहिले सिम्ता गाउँपालिकाबाट नै ४ जी सेवाको सुरुवात हुने भन्दै अवको २ महिना भित्रै टेलिफानको समस्या समाधान हुने बताउनुभयो ।
म दशै विशेष कार्यक्रम उद्घाट्न गर्न खानीखोलामा केहि दिन पहिले गएको थिएँ, त्यत्तिबेला नै खानीखोलामा टेलिफोन सेवा विस्तार गर्ने बचन दिएको हुँ, त्यसलगत्तै वीरेन्द्रनगर आएर सम्बन्धित निकायसंग निरन्तर छलफल गरिरहेको छु, उहाँले भन्नुभयो अबको २ महिना भित्र खानीखोला लगायत सिम्ताका अन्य ठाउँमा टेलिफोनको समस्या हल हुन्छ ।
यता टेलिकम कार्यालय सुर्खेतका प्रमुख नवराज खतिवडाले अहिले भोटेचुलीमै रहेको स्काई टावरमै नमस्तेको सेवा जोड्ने अथवा त्यसै स्थानमा नयाँ टावर राख्ने भन्ने वारेमा कुराकानी भैरहेको बताउनुभयो । उहाँले त्यस स्थानमा वत्तिपनि नभएकाले सोलार व्याट्रि बाटै सेवा शुरु गर्नुपर्ने बताउनुभयो । साथै छिट्टै ४ जी सेवाको शुरु गर्ने र सबै नेटवर्क लाग्ने गरी काम गर्ने तयारी भएको उहाँले जानकारी दिनुभयो ।



Milan Shrestha । ८ कार्तिक २०७६, शुक्रबार १०:०९ बजे