काठमाडौँ, असार १८ गते । निजामती सेवामा झण्डै दुई हजार दरबन्दी थपिएका छन् । सामान्य प्रशासन मन्त्रालयले गरेको सङ्गठन व्यवस्थापन सर्वेक्षणले विद्यमान दरबन्दी अपुग भएको निष्कर्ष निकाल्दै एक हजार ८४१ नयाँ दरबन्दी सिर्जना गरेको हो ।
नयाँ दरबन्दी थप भएपछि निजामती सेवामा एक लाख तीन हजार दरबन्दी कायम भएको किताबखानाका शाखा अधिकृत कृष्णमणि फुयालले जानकारी दिनुभयो । हाल निजामती सेवामा करिब ८० हजारमात्र कर्मचारी कार्यरत छन् । बाँकी पद रिक्त छन् ।
सरकारले सिर्जना गरेका नयाँ दरबन्दीमा ९० प्रतिशत भन्दा बढी स्वास्थ्य सेवाका भएको सामान्य प्रशासन मन्त्रालयका उपसचिव एवं सहायक प्रवक्ता नन्दराज ज्ञवालीले जानकारी दिनुभयो । सरकारले सबै संवैधानिक निकाय, मन्त्रालयलगायत ३० निकायको नियमित सङ्गठन व्यवस्थापन सर्वेक्षण गरिरहेको जनाएको छ ।
यी निकायको सर्वेक्षण सकिएपछि पुनः दरबन्दीमा थपघट हुने सम्भावना छ । यसअघि सर्वेक्षण गरिसकिएका चौध निकायमा ५४ वटा विशेषसहित दुई हजार ५५ पद सिर्जना भए पनि सामान्य प्रशासन मन्त्रालयले केही पद मिलान गरी एक हजार ८४१ पद थप गर्नुपर्ने निष्कर्ष निकाल्दै दरबन्दी थपका लागि मन्त्रिपरिषद्मा पठाएको थियो ।
गत पुस २९ गते सरकारले केही मन्त्रालय विभाजन गरेपछि कटौती भएका ८८ पदको पनि मिलान गरिएको मन्त्रालयले जनाएको छ । हाल शिक्षा मन्त्रालय, लोकसेवा आयोग र अख्तियार दुरुपयोग अनुसन्धान आयोगको सङ्गठन सर्वेक्षण भइसकेको तथा पर्यटन र भूमिसुधार मन्त्रालयको सर्वेक्षण अन्तिम चरणमा पुगेको सहायक प्रवक्ता ज्ञवालीले जानकारी दिनुभयो ।
यस्तै भूकम्प प्रभावित क्षेत्रमा कर्मचारीको परिचालन सशक्त बनाउन र परियोजना सञ्चालनका लागि नौ हजार ११ वटा अस्थायी पद सिर्जना गरिएको छ । ज्ञवालीको संयोजकत्वमा गठित संगठन संरचना तथा दरबन्दी मिलान निर्देशिका २०७३, सङ्गठन तथा व्यवस्थापन कार्यविधि २०७३ र कार्य विवरण बनाउने निर्देशिका २०७३ को काम अन्तिम चरणमा पुगेको जनाइएको छ । कार्य विवरण बनाउने निर्देशिका २०७३ ले सङ्घीयतामा कर्मचारीको व्यवस्थापन लगायतका काम गर्ने मन्त्रालयले जनाएको छ ।
साभारः गोरखापत्र अनलाइन



Prawash Kumar Shakya । १८ असार २०७३, शनिबार ०१:४८ बजे