कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले अघिल्लो आर्थिक वर्षका कमजोरी र चुनौतीबाट पाठ सिक्दै चालु आर्थिक वर्षको बजेटलाई प्रभावकारी रूपमा कार्यान्वयन गर्न निर्देशन दिनुभएको छ । मुख्यमन्त्री कँडेलले योजनाहरू कागजमा मात्र सीमित नराखी समयमै परिणाम देखिने गरी काम गर्न उनले कर्मचारी संयन्त्रलाई सचेत गराउनुभएको हो ।
भौतिक पूर्वाधार तथा शहरी विकास मन्त्रालय कर्णाली प्रदेशले आयोजना गरेको ‘वार्षिक समीक्षा तथा कार्ययोजना तर्जुमा गोष्ठी’लाई सम्बोधन गर्दै मुख्यमन्त्री कँडेलले विगतका गल्तीहरूबाट सिकेर बजेट कार्यान्वयनको यात्रा तय गर्नुपर्नेमा जोड दिनुभयो । “हामीले विगतमा के कस्ता कमजोरी गरेका थियौँ, त्यसको निर्मम समीक्षा गर्दै आगामी बजेट कार्यान्वयनमा ध्यान दिनु पर्छ,” उहाँले भन्नुभयो, “योजना केवल कागजमा सीमित नरहोस्, समयमै र परिणाममुखी ढङ्गले कार्यान्वयन गर्नु आवश्यक छ।”
मुख्यमन्त्री कँडेलले बजेट निर्माणदेखि कार्यान्वयनसम्मका हरेक चरणमा पारदर्शिता, जवाफदेहिता र समन्वय हुनुपर्ने बताउनुभयो । योजना कार्यान्वयनमा हुने ढिलाइ, असन्तुलित पुँजीगत खर्च, कमजोर अनुगमन र गुणस्तरहीन निर्माण कार्यजस्ता समस्या यस वर्ष दोहोरिन नदिने वातावरण बनाउन उनले मन्त्रालयका सचिव र कार्यालय प्रमुखहरूलाई कडा निर्देशन दिनुभयो । “बजेट कार्यान्वयनमा ढिलासुस्ती र गुणस्तरहीन काम गर्ने छुट कसैलाई छैन । यस्ता चुनौतीहरूको पुनरावृत्ति नहुने गरी काम गर्नुहोस्।” मुख्यमन्त्री कँडेलले भन्नुभयो ।
उहाँले जनताको वास्तविक आवश्यकतालाई बुझेर योजना बनाए मात्र त्यसले उनीहरूको जीवनस्तरमा प्रत्यक्ष प्रभाव पार्ने बताउनुभयो । संघ, प्रदेश र स्थानीय तह तथा आयोजना कार्यान्वयन एकाइहरूबीच बलियो समन्वय स्थापना गर्नुपर्नेमा मुख्यमन्त्री कँडेलले जोड दिनुभयो । “जबसम्म तीन तहका सरकार, मन्त्रालय र आयोजनाहरूबीच समन्वय हुँदैन र अनुगमन प्रणालीलाई प्रभावकारी बनाइँदैन, तबसम्म सरकारले गरेको विकासको अनुभूति जनताले गर्न सक्दैनन्,” उहाँले भन्नुभयो ।
कार्यक्रममा प्रदेशका मन्त्री, राज्यमन्त्री, विभिन्न मन्त्रालयका सचिवहरू, विभागीय प्रमुख तथा जिल्लास्थित कार्यालयका प्रमुखहरूको उपस्थिति रहेको थियो । सहभागीहरूले बजेट कार्यान्वयनका क्रममा फिल्डमा देखिने व्यवहारिक समस्या र तिनका सम्भावित समाधानका उपायबारे प्रस्तुतीकरण दिएका थिए।




Prawash Kumar Shakya । ९ श्रावण २०८२, शुक्रबार १५:१८ बजे