उत्तीसको मुढामा फल्यो वहु उपयोगी सिताके च्याउ


२६ मंसीर, सल्यान । सल्यानका एक किसानले उत्तीसको मुढामा च्याउ फलाउनुभएको छ । कपुरकोट गाउँपालिका, ४ गााडापानीका किसान टेक बहादुर बुढाले ८ सय उत्तीसको मुढामा सिताके च्याउ फलाउनुभएको हो ।

२०७४ फागुनमा उत्तीस जातको काठ काटेर किसान बुढाले एक हजार तयार पार्नुभएको थियो । एक–एक मिटर लम्बाइको काठलाई ४८ घण्टासम्म पानीमा भिजाएर डेढ इन्चको प्वाल पारेर च्याउको बीउ छरेको उहाँले बताउनुभयो । तर पहिलो वर्ष च्याउ नउम्रीए पछि निराश हुनुभएका बुढा यस वर्ष देखि च्याउ उत्पादन हुन थाले पछि हर्षित हुँदै उहाँले भन्नुभयो, ‘एक हजार मुढामा च्याउ छरेको थिएँ, तर सुरुको वर्षमा च्याउ नउम्रीए पछि दुई सय जती मुढा हटाएँ । अहिले च्याउ राम्रो फलेको छ ।’

३ लाख लगानीबाट सुरु गरेको सिताके च्याउ खेती अहिले फस्टाउदै गएको र च्याउ खेती नौलो भएको र अन्यत्र कतै च्याउ नपाइने भएकाले अहिले उत्पादन भएको च्याउ गाउँघर र स्थानीय बजारमै खपत हुने गरेको छ । ‘चार सय रुपैयाँ प्रतिकिलो च्याउ विक्रि हुने गरेको छ ।’ दैनिक बिक्री गर्दा आम्दानी पनि देखिएकाले यसैमा बुढाको च्याउ खेतीमै रस पसेको बताउँदै उहाँले खाडीमा युवा पैसा कमाउन नजान आग्रह गर्दै घर आँगन, पाखा पखेरीबाटै आम्दानी गर्न सुझाव दिनुभयो ।

सिताके च्याउ खेती गरिएको उत्तीसको मुढालाई समयसमयमा पुनः पानीले भिजाउनुपर्ने उहाँ बताउनुहुन्छ । ‘च्याउ एकपटक लगाएपछि पाँचदेखि सात वर्षसम्म उत्पादन दिन्छ भन्ने सुनेको छु,’ उहाँले भन्नुभयो, ‘पहिलो चरणमा त झन्झटिलो हुन्छ तर दिर्घकालीन रुपमा फाईदाजनक रहेछ ।’ शतप्रतिशत अर्गानीक च्याउ उत्पादन गर्दै आएका किसान बुढाले बजारको कुनै समस्या नभएको बताउनुभयो । ‘एकपटक लगाएपछि धेरै वर्ष यसैबाट उत्पादन लिन पाइने भएकाले फाइदा बढी हुन्छ भन्ने विश्वासले सिताके च्याउ खेतीमा लागेको हो,’ उहाँले भन्नुभयो ।

विश्वमा सिताके च्याउ विशेष गरेर ओखर जातका काठमा गरिएको पाइए पनि नेपालमा गरिएको अनुसन्धान अनुसार उत्तिस, सौर, लाकुरी, धालेकटुस आदिमा पनि यसको खेती गर्न सकिने देखिएको जानकारहरु बताउँछन् । गाँडापानी स्थित आफ्नै बारीमा एउटा छाप्रो बनाएर त्यस भित्रै उत्तीसका मुढामा बुढाले चयाउ फलाउनुभएको हो । तर अझै मुढामा सिताके च्याउ खेती गर्ने उपयुक्त ज्ञान, सिप तथा तालिम प्राप्त नगरेको उहाँ बताउनुहुन्छ ।

काठ काट्ने देखि लिएर वीउ रोप्ने र काठलाई सम्हाल्ने कार्यहरु नियमित रुपमा उपयुक्त तरीका र समयमा गरेको खण्डमा उक्त काठहरुबाट महंगो सिताके च्याउ फलाउन सकिने राम्रो सम्भावना छ । मोटोपना घटाउन, रोगप्रतिरोधात्मक क्षमता बढाउन , क्यान्सर सेलसँग भिड्न तथा मुटुरोगमा पनी सिताके च्याउ फाइदाजनक हुने जानकारहरु बताउँछन् ।