के हामी जनताकै बीचमा छौँ त ?


अस्ति राष्ट्रिय स्तरको एउटा पत्रिकाले बिधालयको कार्यक्रममा गएका नेताहरूलाई जनताले उकालोमा पानीका गाग्रोहरु बोकाएको समाचार प्रकाशित गरेको थियो । फुलमालामा सजिएका नेताहरुले डोकोमा पानीका गाग्रा बोकेर कार्यक्रम स्थलमा पुग्नु हाम्रो नेपाली सँस्कार अन्तरगत ठूलै सजाय दिलाइएको अवस्था हो । जनताले यसरी प्रत्येक दिन पानी बोक्नु परिरहेको छ भनेर नेताहरुले नबिर्सुन र तत्कालै समस्याको हल होस् भन्ने हेतुले त्यहाँ त्यसो गरिएछ ।
हाम्रो पार्टी नेपाल कम्युनिस्ट पार्टी(नेकपा)ले ३ महिने राष्ट्रिय अभियान तय गरिरहँदा अब हामी पक्कै जनता बीच जानेनै छौँ । लामो समय जनताबाट टाढा रहेका पार्टी नेताहरु गाउँ पस्दा जनताले के पो गर्नेहुन भनेर सोच्नुपर्ने बेला आइसकेको छ ।
मैले आफुले याद गरेअनुसार गएका निर्वाचनको बेला हामीले स्टेचरमा बोकेर समेत जनतालाई मतदान स्थल पुर्याएकै हौं र भोट हाल्न लगाएकै थियौं । उपचार गरेर घरमै आराम गरिरहनुपर्ने बिरामीलाई स्टेचरमा बोकेर मतदान स्थल लैजादा उसले आफ्नो पार्टी र नेताबाट केही न केही आशा नराख्ने कुरै भएन । बिचरा जनताले चुनाव वरिपरिका दिन् त राति निदाउन पनि पाएनन् । बिभिन्न आश्वासनका साथ जसरी सबै गुणले युक्त केटीलाई बिवाहका लागि फकाउदा आश्वासन दिइने पुरानो चलन थियोे सोही तरिकाले जनताले आश्वासन पाए नै । केही गर्दापनि बिवाहका लागि राजी नभएपछि एकजना मान्छेले आफ्नो घरमा सुनको चोली छ भनेर केटी फकाएर भगाउने काम गरेझैं सपनाका तारा बाडेर चुनाव जित्ने जिताउने कार्य भयो । जनताले विश्वासको साथ मतदान गरे । मलाई के लाग्छ भने निर्वाचन पश्चात विजय जुलुसको र भोज भतेरमा जनतासँग जे जति भेट भयो त्योभन्दा थप भेटघाट कोही पार्टीको नेतृत्व तहबाट भएको छैन होला ।
यदि भेटघाट भएको खण्डमा आफ्नो स्पेसल कार्यकर्ता,नातेदार वा उपभोक्ता समितिमा बसेका पदाधिकारी लगाएतका व्यक्तिसँग भयो होला । हाम्रो पार्टीका नेता,कार्यकर्ताबाट जनताले शरीरमा नियमित रक्तसंचारको प्रक्रिया जस्तै निरन्तर सम्पर्क चाहेका हुन्छन् । अपेक्षा भन्दा कमै अवस्थामा पनि नेतृत्व आफुमाझ नपुगेको जनगुनासो छ । जनप्रतिनिधि एक त गाउँमा हुदैनन् ।कार्यालय नियमित खुल्दैनन् ।खुलेमा पनि प्राय कर्मचारी भटिन्छन् ।यदि जनप्रतिनिधि भेटिए पनि जनताले जनप्रतिनिधिको रुपमा हुने व्यबहार एकदमै कम जनप्रतिनिधिबाट मात्रै देख्न पाएका छन् ।अधिकांश जनप्रतिनिधि पार्टीले ५ वर्षका लागि निर्वाचन मार्फत चुनेका करार कर्मचारी हुन कित भन्ने भान परेको छ । पार्टी प्रतिको माया र पार्टी नेतृत्वको गुणले चुनावमा मतदान गरेका जनता जनप्रतिनिधि कतिपयको व्यबहारले वर्षौ आस्था रहेको आफ्नो पार्टी समेत भुल्न खोज्ने स्थिति पनि छ । म अन्य पार्टीको कुरा गर्न चाहन्न स्वयं जनआधारित कम्युनिस्ट पार्टीका नेता,कार्यकर्ता पनि जनताको नजरमा धेरै टाढा छन् ।
३ जेठ २०७५ मा पार्टी एकता भयो । पार्टी एकता भैरहदा ३ महिनाभित्रै एकताका काम टुङ्गो लगाउने भनेर स्थानीय तहसम्मका पार्टी कमिटी भङ्ग गरिए ।सोही समयदेखि नेता,कार्यकर्ता कमिटी छैनन् र जिम्मेवारी छैनन् भन्दै जनतासामु पुगेनन् । पार्टी ले एकतासहितका कमिटी घोषणा गरिसके पश्चात् कमिटीमा समाहित जिम्मेवार कार्यकर्ताहरुको सपथ ग्रहण तय गरेर वडा तहसम्मका केही कार्यकर्ता सम्ममा भेटघाट भएको अवस्था मात्रै छ । स्थानीय तह निर्वाचन देखि प्रदेश र संघको निर्वाचन सम्म जनताले राखेका अपेक्षा के थिए र कसरी सम्बोधन भैरहेका छन् भन्ने विषयमा अबको अभियान केन्द्रित हुनैपर्छ । पार्टीको ११ बुँदे आचार संहिता र त्यसको कार्यान्वयन तथा सरकारले जनताको पक्षमा गरेका सकारात्मक कार्यको प्रत्येक नागरिक तहसम्म जानकारी पुर्याउन अबको अभियान सार्थक र सफल पार्न पर्छ । पार्टी एकताले पूर्णता पाउन ढिलाइ भइरहदा त्यसको प्रभाव सरकारका काममा परेतापनि सरकारले ऐतिहासिक महत्वका थुप्रै जनपक्षीय काम गरेकैछ र यसको प्रचार आवश्यक छ।
     पार्टी बिधानले कम्युनिस्ट पार्टी सबैखाले प्रतिक्रियावाद,अवसरवाद,र सङकीर्णताका बिरुद्ध तथा सामाजिक सद्भाव र राष्ट्रियताको पक्षमा रहने प्रष्ट पारेको छ ।यधपी पार्टीको सामान्य कार्यकरतादेखि नेतृत्वसम्म अहिले अवसरका लागि हानाथाप गर्न तल्लीन छ । इमान्दार कार्यकर्ता र नेता भेटाउन दशक अघिका नेता,कार्यकर्ताको उदाहरण लिनुपर्ने स्थिति छ । आम जनसमुदायसँग घनिष्ट सम्बन्ध राख्दै सबैप्रकारका शोषण,उत्पीडन,अन्याय,असमानता र विभेदको समाप्तिका लागि अग्रसरता देखाउने विषय पछाडि परेको छ । पार्टी एकताको कारण हामी दक्षिण एसियामा सबैभन्दा ठूलो कम्युनिस्ट पार्टी बन्न सफल भएका छौं । एसियामा चीन र भियतनाम पछि तेस्रो ठूलो कम्युनिस्ट पार्टी हाम्रै पार्टी छ । यो अवस्थामा हामी पुग्छौ भनेर यतिचाडैं कल्पना नगरेको विषयमा हामी पुग्यौं । यो स्थितिमा हुनु हामी इतिहासमै सौभाग्यशाली पनि हौं । यसो भनिरहँदा हाम्रो इतिहासले अग्निपरीक्षा लगेको छ भन्ने पनि हामीले हेक्का राख्नैपर्छ । कार्यकर्ताहरु पार्टीका अभियानको बेला मात्रै पार्टी काममा केन्द्रित हुने पार्ट टायमका नभइ अधिकांशलाइ पूर्णकालीन बनाउन जरुरी छ । जिम्मेवारीमा रहेका व्यक्तिले काम गरेपनि उस्तै र नगरेपनि उस्तै हुने स्थिति अन्त्य गरि प्रोत्साहन ,दुरुत्साहन र सजायको पक्षमा कठोरता पूर्वक अघि बढ्न आवश्यक छ । कालिकोटका सन्दर्भमा कुरा गर्ने हो भने यदि पार्टी एकता नहुँदो हो त यतिबेला सम्म सयौं कार्यकर्ता एकअर्को पार्टीमा प्रवेश गरेका समाचार देख्नु परेको हुन्थ्यो होला । जिल्ला नेतृत्व जिल्लाका ८२ वटै वडा तहमा पुगिसकेको र आफ्ना कार्यकर्ता तथा शुभेच्छुकहरु बीच सुख्ख दुःखमा साथी भैसकेको देख्न सकिन्थ्यो होला ।
     पार्टी ठूलो बन्ने र निर्वाचन जित्ने विषय मात्रै महत्त्वपूर्ण कुरा हैन । निर्वाचन पश्चात् पार्टी कार्यकर्ता र जनताको मन र मुटुमा रहिरहने कुरा ठूलो हो । अबको पार्टीलाई बिधान पूर्वक सञ्चालन गरि केन्द्र पार्टीले सार्वजनिक गरेको आचार संहिता प्रत्येक सदस्यद्वारा कार्यान्वयन गर्दै विकास निर्माणका काममा पार्टीले नेतृत्व लिन बिलम्व गर्नु हुदैन । पार्टीको मेरुदण्डको रुपमा रहेका कार्यकर्ताको स्थिति केछ ? पार्टीले गहिरो अध्ययनसहित संरक्षण गर्न सक्नुपर्छ । हाम्रो पार्टीको झण्डा बोक्ने शुभेच्छुक समेत पार्टीको कर्मठ सिपाहीको रुपमा पार्टीको पक्षमा उभिन सक्ने वातावरण बनेमा मात्रै फेरिका दिनमा हामी कमजोर बन्दैनौ भन्ने सुनिश्चित गर्न सकिन्छ ।त्यसो गर्न सकेमा हामी चोक,चौतारी र चियापसल जताततै विपक्षीका सामु शीर ठाडो गरेर बोल्न पाउछौ । यतिमात्र हैन हामीले हाम्रा कामहरु जनपक्षीय गरेको खण्डमा हामी जनता सामु गइरहदा जनताबाट सजाय भोग्नुपर्ने स्थिति रहने छैन । जनता र कार्यकर्ता बीच घनिष्टताको लागि हामीले पार्टीमा कार्यकर्ता अनुमोदित नेतृत्व चयन अपरिहार्यता बन्छ । अहिले पनि कार्यकर्ता अनुमोदित कमिटीकै समायोजन नेतृत्व छ ।यधपी यो भन्दा समेत अझै प्रत्यक्ष रुपमा तत्कालीन एमालेकै रुपमा आम कार्यकर्ताले बिधिमा सहभागी भएर चयन गर्ने नेतृत्व तर्फ हाम्रो ध्यान जान जरुरी छ । त्यसो भनिरहदा तत्कालीन एमालेका अधिवेशनले पार्टीमा बढाएको अस्वस्थ प्रतिस्पर्धा र गुटका महल निर्माण जस्ता नकारात्मक पाटाहरु पनि बिर्सनु भने हुदैन ।