चैत्र १ गते देखी प्रथम मेयर कप फुटबल प्रतियोगिता हुने


१८ फागुन, सुर्खेत । कर्णाली प्रदेशको राजधानी सुर्खेतको वीरेन्द्रनगरमा यही चैत्र १ गते देखी प्रथम मेयर कप फुटबल प्रतियोगीता हुने भएको छ ।

जिल्ला फुटबल संघ सुर्खेतले आज वीरेन्द्रनगरमा पत्रकार सम्मेलन गरेर प्रतियोगिता आयोजना गर्न लागिएको जनाएको छ । वीरेन्द्रनगर नगरपालिकाको आर्थिक सहयोग र जिल्ला फुटबल संघको आयोजना प्रतियोगिता संञ्चालन हुन लागेको हो ।

स्वास्थ्यको लागि खेलकुद, राष्ट्रको लागि खेलकुद भन्ने मुल नाराका साथ शुरु हुने प्रतियोगितामा वीरेन्द्रनगरका १६ वडाका टिमले सहभागीता जनाउने भएका छन् । प्रतियोगिता सञ्चालनको लागी करिब ४ लाख ७० हजार लागत लाग्ने अनुमान गरिएको छ । प्रतियोगितामा विजेतालाई ५१ हजार  र उपविजेता ३१ हजार पुरस्कार दिइने गराउने जिल्ला फुटबल संघ सुर्खेतले बताएको छ ।

त्यसैगरी विभिन्न पाँच वटा विधामा उत्कृष्ट खेलाडीलाई समान ५/५ हजारका दरले पुरुस्कार वितरण गरिने छ भने प्रत्येक दिन खेलमा राम्रो खेल प्रदर्शन गर्नेलाई म्यान अफ द म्याच घोषणा गरेर २ हजार ५ सय पुरस्कारले पुरस्कृत गरिने बताइएको छ । संघका अध्यक्ष जनक बहादुर रावलले भौतिक संरचनाको अभावका कारण जिल्लामा खेलकुदका गतिविधिहरु संञ्चालन गर्न नसकेको बताउनुभयो । उहाँले नगरपालिका क्षेत्रभित्र रहेका खेलाडीहरुको प्रतिभा विकास गर्न प्रतियोगिताको आयोजना गरिएको भन्दै आगामी बर्ष देखी वीरेन्द्रनगर सहित जिल्ला बाहिर पनि खेलकुदका गतिविधि संञ्चालन गरिने बताउनुभयो । अध्यक्ष रावलले आगामी दिनमा विभिन्न खालका लिगहरुको आयोजनाको लागी स्थानिय सरकार र प्रदेश सरकारसंग समन्वय गर्ने उल्लेख गर्नुभयो।

यसैबिच जिल्ला फुटबल संघले ईन्टरनेशनल फुटबल एकेडेमीलाई खेल साम्रगी वितरण गरेको छ । खेलाडीहरुलाई खेलकुदप्रति आकर्षण गर्ने उदेश्यले पोशाक वितरण गरिएको हो ।