कोरोनाको त्रास ! मानिसहरु धमाधम घर फर्किदै


८ चैत्र, सुर्खेत । अत्याधिक तिव्रगतीमा संसारलाई नै आतंकित पार्दै फैलिरहेको कोरोना भाइरस (कोभिड-१९) को महामारीलाई मध्य नजर गर्दै हिजो शुक्रवार प्रधानमन्त्री केपी शर्मा वलीले देशवासीका नाममा सम्बोधन गर्दै सरकारले लामा दूरीका यातायातहरु नचलाउने भन्ने सूचना जारी संगै कर्णाली प्रदेशको राजधानी सुर्खेतबाट घर तर्फ जानेको संख्यामा ह्वात्तै बृद्धी भएको  छ । 
कर्णाली प्रदेशको राजधानी सुर्खेतको वीरेन्द्रनगरबाट विषेश गरेर दैलेख, कालिकोट, जुम्ला तथा मुगुकालागि यात्रुको अत्याधिक चाप भएको हो । कर्णाली प्रदेश सरकारले केही दिन अगाडीबाट सुर्खेत भित्रिने नाका बबईमा बाहिरबाट कर्णाली प्रदेशमा आउने यात्रहरुको स्वास्थ्य चेकजाँच समेत गरिरहेको छ ।
राजधानी वीरेन्द्रनगरबाट जिल्लाको पश्चिम तर्फका बड्डीचौर, बाबियाचौर, गुटु बेतान, लगाम तर्फ जाने यात्रुहरुको पनि अहिले बसपार्कमा  घुईचो लागेकोछ । त्यस्तै प्रदेशको विभिन्न जिल्लाहरु दैलेख, कालिकोट, जुम्ला र मुगु जानकालागि पनि सुर्खेत बसपार्कमा यात्रुहरुको घुइचो रहेको छ ।
आज बसपार्कमा अरु भन्दा विषेश गरेर पहाडी इलाका तर्फ घर जानेहरुको घुइचो रहेको स्थानीय रमेश पौडेलले बताउनुभएको छ ।
दैलेखको जितेगढाकालागि आज मात्र थप ५ बस सहित १३ वटा बस छुटेको मध्यपश्चिम यातायातका जनक वलीले जानकारी दिनुभयो । उहाँले भन्नुभयो । संधै ८ वटा बस जाने गर्थ्यो तर यो कोरोना भाइरसको त्रास कारण तथा गाडी बन्द हुने सूचनाले थप ५ वटा बस हामीले यात्रुको सेवाकोलागि पठाएका हौं ।
त्यस्तै काठमाण्डौंबाट यात्रु सुर्खेत तर्फ ल्याउनकालागि आज सुर्खेतबाट थप ५ बस सहित ७ बस काठमाण्डौ तर्फ प्रस्थान गरेको मध्यपश्चिम यातायातका विजय सुवेदीले बताउनुभयो । उहाँले भन्नुभयो । सुर्खेतबाट काठमाण्डौं तर्फ जाने यात्रुको भने अभाव भएपनि घर तर्फ फर्किने यात्रुको सहजताकालागि भनेर थप बस काठ्माण्डौं बस पठाएका हौं र ति बसहरु काठमाण्डौंमा अग्रिम बुकिङ्ग भैसकेको छ ।
त्यस्तै देउती नागरिक यातायातका फिरोज खड्काका अनुसार आज मात्र कर्णालीको पहाडी इलाकाकालागि थप ४ वटा बस प्रस्थान गरेको छ ।
त्यस्तै हिल्सा पब्लिक यातायातले पनि काठ्माण्डौ तर्फ ६ वटा बस पठाएको छ भने सुर्खेत काँक्रेविहारले जुम्ला रुटमा ९ वटा काँक्रेविहार यातायात पनि थप ८ वटा बस पहाडी रुटमा पठाएको जनाएको छ ।
स्मरण रहोस सरकारले शुक्रवार “लकडाउन” को घोषणा गरे सँगै यात्रहरु आआफ्नो घर तर्फ जानेको संख्यामा बृद्धि भएको हो ।