
मनिराज पाण्डे
१५ चैत्र, । कालिकोट । विश्वभरी आतंकारी रुपमा फैलिरहेको कोरोना भाइरस (कोभिड-१९) को आशंकामा कालिकोटका दुई वटा स्थानीय तहका ३७ जना क्वारेन्टाइनमा राखिएको छ ।
कालिकोट जिल्लाभर ६ सय ६ वटा क्वारेन्टाइन वेड र जिल्ला अस्पतालमा ४ वटा आइसोलेसन वेड तयार गरिएको जिल्ला जनस्वास्थ्य अधिकृत कटक महतले बताउनु भयो । स्वास्थ्यकर्मीकालागि अतिआवश्यक पर्ने सामाग्रीको अभाव छ । ज्वरो नाप्ने आइ आर थर्मामिटर, स्वास्थ्यकर्मीले प्रयोग गर्ने माक्स लगाएतका सामाग्रीहरु छैनन् । माग गरिएपनि सम्बन्धीत क्षेत्रबाट प्राप्त नभएको महतले जानकारी दिनुभयो ।
सान्नीत्रीबेणी गाउँपालिकामा २८ जना र राष्कोट नगरपालिकामा ९ जना गरि जम्मा ३७ जना क्वारेन्टाइनमा राखिएको छ । जिल्लामा डाक्टर विज्ञान प्रजापतीको संयोजकत्वमा ९ सदस्य बिपद उद्दार तथा प्रतिकार्य टिम गठन गरिएको प्रमुख जिल्ला अधिकारी कृष्णचन्द्र पौड्यालले बताउनु भयो ।
प्राथमिक स्वास्थ्य केन्द्र कुमालगाउँमा ३ वेडको आइसोलेसन वेड बनाउने तयारी भइरहेको छ । पलाँता गाउँपालिकाले २० हजार थान मास्क तथा हातधुने साबुन बितरण गरेको पलाँता गाउँपालिका अध्यक्ष लक्ष्मण बहादुर बमले बताउनु भयो ।
कोरोना महामारी रोकथामकालागि पलाँता गाउँपालिकालाई पलाँतामै रहेको ए.एन.वि. अस्पताल संचालक गोरीकला बमले १ लाख ५० हजार रकम सहयोग गर्नुभएको पलाँता स्वास्थ्य संयोजक हिमाल सन्ज्यालले बताउनुभयो ।
त्यस्तै तिलागुफा नगरपालिका, पचालझरना, महाबै, शुभकालिका र नरहरीनाथ गाउँपालिकामा घर बाहिरबाट आएका लाइ घरमै सुरक्षित बस्ने जनचेतना स्थानीय सरकारले दिई रहेको छ ।
Prawash Kumar Shakya । १५ चैत्र २०७६, शनिबार ११:१३ बजे