१८ फागुन, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको भ्रमण लगत्तै भारतले नेपाललाई दिने आर्थिक सहायतामा भारी कटौति गरेको छ । सोमबार प्रस्तुत गरिएको वार्षिक बजेटमा सन् २०१६-१७ का लागि नेपाललाई ३ अर्ब भारतीय रुपैयाँ छुट्याइएको छ, । जबकि अघिल्लो वर्ष यो अंक ४ अर्ब २० करोड थियो । यो ३० प्रतिशत कम हो ।
आपसी असमझदारी अन्त्य गरेर’ ओली नेपाल फर्केलगत्तै भारतले सहायता कटौति गर्नुलाई आश्चर्यजनक रुपमा लिइएको छ । यद्यपि यो कटौतिले ओली सरकारप्रति नयाँ दिल्लीको आत्मविश्वासलाई संकेत नगर्ने स्रोतको हवाला दिँदै द इन्डियन एक्सप्रेसले जनाएको छ । ‘नेपाललाई दिइएको सहायताको सदुपयोग हुन नसक्नु मुख्य मुद्दा हो,’ एक अधिकारीले भने, ‘भूकम्पपछिको पुनर्निर्माणका लागि अहिलेसम्म एउटा प्राधिकरण मात्रै गठन भएको छ । अघिल्लो वर्षको सहयोग नै उपयोग हुन सकेको छैन । त्यसैले गर्दा अनुमानित सहयोग पुनरावलोकन गरिएको हो ।’ समग्रमा विदेश मन्त्रालयका लागि एक खर्ब ४६ अर्ब ६२ करोड रुपैयाँ छुट्याएको छ, जुन अघिल्लो वर्षभन्दा ३ अर्ब ७८ करोड न्यून हो ।
साभारः अनलाइन खबर



Milan Shrestha । १८ फाल्गुन २०७२, मंगलवार १०:०१ बजे