दाङ, असार १५ गते । दाङको तुलसीपुरमा पानी भण्डारणका लागि घरको छतमा राखिने हिलट्याङ्की चोरको बिगबिगी बढेको छ । इलाका प्रहरी कार्यालय तुलसीपुरले चोरी गरेका २८ थान हिलट्याङ्की नियन्त्रणमा लिएपछि त्यसको रहस्य पर्दाफास भएको हो ।
तुलसीपुरबाट धेरै व्यापारीले आफ्नो पसलबाट हिलट्याङ्की हराएको भन्ने गुनासो गरेका आधारमा प्रहरीले अनुसन्धान थालेपछि एकै दिनमा प्रहरीले तुलसीपुरको नयाँ बस्तीबाट २८ थान पानी ट्याङ्की बरामद गरेको हो । प्रहरीले चोरी गर्ने दुई जनालाई पनि नियन्त्रणमा लिएको छ । इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख एवम् प्रहरी नायब उपरीक्षक कृष्णप्रसाद प्रसार्इंले केही व्यक्ति फरार रहेकाले उनीहरुको खोजी भइरहेको जानकारी दिनुभयो ।
प्रहरीले विशेष सूचनाका आधारमा तुलसीपुरको नयाँ बस्तीबाट ती हिलट्याङ्की फेला पारेको हो । चोरले सस्तो मूल्यमा हिलट्याङ्की बेचेकाले सबै ड्रम त्यही बस्तीका केही घरबाट फेला पारिएको इलाका प्रहरी कार्यालय तुलसीपुरले जनाएको छ ।
चोरले प्रत्येक हिलट्याङ्की रु तीन हजारदेखि रु चार हजारको दरले बिक्री गर्ने गरेको पाइएको छ । एक हजार र पाँच सय लिटरका ट्याङ्कीहरु बरामद गरिएको बताइएको छ ।
साभारः गोरखापत्र अनलाइन



Prawash Kumar Shakya । १५ असार २०७३, बुधबार ०३:३१ बजे