कोरोना रोकथामको दोश्रो चरणको तयारीलाई तिब्रता दिऔंः मुख्यमन्त्री शाही


२३ चैत्र, सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले कोरोना भाईरस (कोभिड–१९) रोकथाम तथा नियन्त्रणको दोश्रो चरणको तयारीलाई तिव्रता दिन निर्देशन दिनुभएको छ ।
आज आईतवार मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा भएको प्रदेश स्तरीय संकट नियन्त्रण केन्द्रको बैठकलाई सम्वोधन गर्दै मुख्यमन्त्री शाहीले कोरोना भाईरस संक्रमण दोश्रो चरणमा पुगेको भन्दै त्यसको रोकथाम तथा नियन्त्रणको तयारीलाई तिव्रता दिन निर्देशन गर्नुभएको हो ।
अव वडास्तरमा जनप्रतिनिधि, स्वास्थ्यकर्मी, सुरक्षाकर्मी र स्वयंसेवकको एकिकृत टीम तयार गरि रोकथाम तथा नियन्त्रणको कामलाई प्रभावकारी बनाउनुपर्नेमा उहाँले जोड दिनुभयो । मुख्यमन्त्री शाहीले कर्णाली प्रदेशमा नेपालमै पहिलो पटक सिमानाकामाहरुमा हेल्थ डेस्क स्थापना स्वास्थ्य जाँच तथा आवागमणलाई कडाई गरेका कारण अहिलेसम्म कर्णाली प्रदेशमा कोरोनाभाईरसको संक्रमण नदेखिएको बताउनुभयो ।
लकडाउनपछि लुकीछिपी विदेशवाट गाउँमा पुगेका नागरिकवाट संक्रमणको जोखिम रहेको बताउदै मुख्यमन्त्री शाहीले बाहिरी मुलुकका बढि संक्रमण भएका मुलुकवाट गाउँमा पुगेका नागरिकको स्याम्पल संकलन गरेर परिक्षण कार्यलाई तिव्रता दिन पनि निर्देशन गर्नुभयो । मुख्यमन्त्री शाहीले प्रदेश, जिल्ला, पालिका र टोलस्तरमा कोरोना भाईरस (कोभिड–१९) रोकथाम तथा नियन्त्रणका लागि एकिकृत टोली निर्माण गर्ने र वडास्तरका टोलीहरुलाई प्रभावकारी रुपमा परिचालन व्यवस्था मिलाउन निर्देशन गर्नुभभयो ।
वडास्तरका एकिकृत टोलीले सेल्फ क्वारेन्टाईनमा रहे नरहेको अनुगमण गर्ने, एक घरवाट अर्को घरमा हुने आवतजावतलाई कडाई गर्ने, खाद्यान्न वस्तुको अभाव भएका परिवारमा खाद्यान्नको आपुर्ती व्यवस्था मिलाउने संकास्पद विरामीको स्वाव संकलनमा सहयोग गर्ने लगायतका काम गर्नुपर्ने उहाँको भनाई छ । विदेशवाट आएका नागरिक, गर्भवती, वालवालिका र ६० वर्ष माथिका नागरिकको स्वास्थ्य अवस्थालाई विशेष निगरानीमा राख्न आग्रह गर्दै मुख्यमन्त्री शाहीले संक्रमण शुरु भैहालेमा मृत्यूदरलाई सकेसम्म कम गर्ने तर्फ पनि ध्यान दिन जरुरी रहेको बताउनुभयो ।
मुख्यमन्त्री शाहीले कर्णाली प्रदेशका नागरिकको सुरक्षाको जिम्मेवारीप्रति संवेदनशिल हुन आग्रह गर्दै वलप्रयोग गरेर भएपनि लकडाउनलाई प्रभावकारी बनाउन सुरक्षाप्रमुखहरुलाई निर्देशन गर्नुभयो । उहाँले दिनभर घरभित्र वस्ने र वेलुका चोक चौतारामा जम्मा हुनेहरुलाई वलप्रयोग गरेर भएपनि लकडाउनलाई प्रभावकारी वनाउनुपर्नेमा जोड गर्नुभयो । प्रदेश सरकारले स्वास्थ्यकर्मी र सुरक्षाकर्मीलाई संक्रमणवाट जोगाउन व्यक्तिगत सुरक्षा सामाग्रिको व्यवस्था गरिरहेको र अपुग सामाग्रि आपुर्तीको लागि सामाजिक विकास मन्त्रालय मार्फत काम भईरहेको पनि जानकारी दिनुभयो ।