नेपालको कृषि विकास रणनीति असफलः सांसद काफ्ले


जुम्ला,  मङ्सिर १४ गते । व्यवस्थापिका–संसद् सदस्य डिल्लीप्रसाद काफ्लेले विदेशी सहयोगका कारण नेपालको कृषि नीति असफल भएको ठोकुवा गर्नुभएको छ ।
आत्म सम्मानका लागि सहकार्य क्याड जुम्लाद्वारा सोमबार आयोजित दिगो कृषिको विकास विषयक बहसमा उहाँले नेपालको कृषि विकास रणनीति असफल भएको दाबी गर्नुभयो ।

कृषि तथा जलस्रोत समितिका सदस्य समेत रहनुभएका सांसद काफ्लेले नेपालको कृषि विकास रणनीतिमा संशोधनको धारणा राख्ने आफू एक मात्र व्यक्ति भएको जनाउँदै खासगरी पछिल्लो समयमा सरकारी संयन्त्र नै कमजोर भएर गएको औँल्याउनुभयो ।

उहाँले भन्नुभयो, “नेपालको कृषि विकास रणनीति न हंस जस्तो छ, न बकुल्ला जस्तो ।” यो रणनीति अन्तर्राष्ट्रिय १३ वटा संस्थाले बनाएका हुन्, नेपालले बनाएको होइन, जुन नेपालको माटो सुहाउँदो छैन, सांसद काफ्लेले भन्नुभयो । उहाँले सरकारी जनशक्ति र स्रोत परिचालन नभई सरकारी निकाय अन्तर्राष्ट्रिय गैरसरकारी संस्था ९आइएनजिओ०को पछाडि लागेको आरोप लगाउनुभयो ।

सरकारले बनेका नीति कार्यान्वयन गरेर देशको जनशक्ति प्रयोग गर्नुको सटृा वैदेशिक रोजगारमा पठाउने कुरामा बढी जोड गरिरहेको र आफूहरुले माग गरेको जनशक्ति पनि प्राप्त नगरेको उहाँको भनाइ थियो ।

जुम्ला प्रदेश नं ६ को सुपर कृषि जोनमा सरकारले घोषणा गरी कार्यक्रम कार्यान्वयन गर्न थालेको परिवेशमा जमिन वर्गीकरण गरी खेती गर्नुपर्ने टड्कारो आवश्यकता रहेको उहाँले औँल्याउनुभयो ।

“कृषि सुपर जोनका रुपमा घोषित जुम्लाले हाम्रो उत्पादन सरकारले किन्ने व्यवस्था हुनुपर्दछ, आयात घटाउने र निर्यात बढाउने प्रविधि एवम् अभ्यासमा लाग्नुपर्दछ,” उहाँले थप्नुभयो ।

कृषि क्षेत्रका विज्ञ सफल भए मुलुकको कृषि विकास सफल हुने भन्दै उहाँले जुम्लाले मुलुकमा गुणस्तरयुक्त स्याउको माग पूरा गर्न सकोस् भन्ने कामनाका साथ कृषि क्षेत्रमा कार्यरत नेपाल सरकारका अधिकारी कर्मचारीलाई विज्ञता प्रयोग गर्न आग्रह गर्नुभएको थियो ।

वरिष्ठ कृषि विकास अधिकृत भरतप्रसाद कँडेलले सरकारले पछिल्लो समयमा कृषि सुपर जोन घोषणा भएका प्रत्येक जिल्लामा कृषि अध्ययन संस्थान स्थापना गर्ने नीति ल्याएको जनाउनुभयो ।

कँडेलले कुषि सुपर जोन गतिशील र महत्वपूर्ण दस्तावेज भएको जनाउँदै जुम्लाको प्राङ्गारिक कृषि विकासमा आफूहरु लागेको बताउनुभयो । त्यसका लागि पकेट क्षेत्र विस्तारमा लागेको उहाँको भनाइ थियो ।

साभारः गोरखापत्र अनलाइन