
२३ चैत्र, सल्यान । सल्यानको कपुरकोट गाउँपालिकाले असंगठित क्षेत्रमा कार्यरत श्रमिक तथा असहायलाई राहत वितरण कार्य जारि राखेको छ । आइतबार सम्म एक सय २८ घरपरिवारलाई राहत प्रदान गरिएको गाउँपालिकाले जनाएको छ ।
राहत सामग्रीको दुरुपयोग नहोस् भनेर विशेष ध्यान दिइएको जनाउँदै गाउँपालिका अध्यक्ष भिम बहादुर सेनले सम्बन्धित वडा कार्यालयले पहिचान गरेका पिडितलाई राहत उपलब्ध गराइएको जनाए । यस अघि वडा नम्बर २, ३ र ४ मा खाद्यान्न लगाएतका सामग्री वितरण गरिसकेको गाउँपालिकाले आईतबार वडा नम्बर १ र ६ का ५३ विपन्न घर परिवारलाई राहत प्रदान गरेको छ । १ नम्बर वडामा १७ र ६ नम्बर वडामा ३६ घर परिवारलाई चामल, नुन, तेल, दाल, साबुन वितरण गरिएको अध्यक्ष सेनले बताउनुभयो ।
राहत वितरणको बेला हुन सक्ने भिडभाडलाई मध्यनजर गर्दै गाउँपालिकाले एक ब्यक्तिबाट अर्काे ब्यक्तिविचको दुरी कायम गरि राहत वितरण गरेको जनाएको छ । राहत संगै कोरोनाबाट बच्ने उपायका बारेमा पनि परामर्श गरिएको स्वास्थ्य शाखा संयोजक अरुण दाहालले जानकारी दिनुभयो । जनस्तरमै आएर परामर्श संगै खाद्यान्न सामग्री पाएपछि विपन्न परिवारहरु खुसि भएका छन् ।



Prawash Kumar Shakya । २३ चैत्र २०७६, आईतवार १९:५३ बजे