न्यायाधीशलाई गाली गर्ने एमाले सांसदलाई सात दिनभित्र उपस्थित हुन आदेश


१७ बैशाख, बारा- अदालतमै न्यायाधीशलाई गाली गलौज गर्ने एमाले सांसद नेजमा जिल्ला अदालतले सात दिनभित्र उपस्थित हुन आदेश दिएकाे छ। आलमविरुद्ध दायर भएको अवहेलना मुद्दामा जिल्ला अदालतले सात दिनभित्र उपस्थित हुन शुक्रबार आदेश दिएको हाे।जिल्ला अदालत बार एशोसिएसन बाराले सांसद नेजमा आलम, उनका दुई वटा छोरा र समर्थकविरुद्ध दायर गरेको अवहेलना मुद्दामा इजलास नम्बर दुईका न्यायाधीश रितेन्द्र थापाको एकल इजलासले म्याद बुझेको सात दिनभित्र अदालतमा आफैँ उपस्थित हुने आदेश गरेको अदालतका निमित्त स्रेस्तेदार सुदिप भट्टराईले बताए।

आफूले भने अनुसारको श्रीमानको हत्यारालाई कैद सजाय नगरिएको भन्दै नेजमा आलमले इजलास नम्बर एकका न्यायधीश भोजराज शर्मालाई गाली गलौज गरी अभद्र व्यवहार गरेकी थिइन्। त्यसपछि उनीसहित उनका समर्थकविरुद्ध बिहीबार अवहेलना मुद्दा दायर गरिएको थियो।


देास्रो संविधान सभाको चुनावमा एमालेबाट बारा निर्वाचन क्षेत्र नम्बर ४ बाट उम्मेदवार बनाइएको एमाले नेता महमुद आलमको चुनाव अगाडि नै २०७० असोज १८ गते गोली प्रहार गरी हत्या गरीएको थियो।


श्रीमानको हत्या गरीएकोविरुद्धमा सांसद आलमले रामचन्द्र प्यासी कुश्वाहा हत्यामा संलगन रहेको भन्दै प्रहरीमा किटानी जाहेरी दिएका थिए।


बारा जिल्ला अदालतले दुई वर्ष पाँच महिनापछि ज्यानसम्बन्धी मुद्दामा बुधबार गरेको कैद सजायको फैसलामा चित्त नबुझेपछि सांसद आलम र उनका समर्थकले मुद्दाको फैसल गर्ने न्यायाधीसलाई इजलासमै गाली गलौज गर्दै अभद्र व्यवहार गरेका थिए।


श्रीमानकाे हत्या अभियोगमा पक्राउ परेका एमालेका पूर्व सभासद रामचन्द्र प्यासी कुश्वाहालाई जन्मकैद सजाय नतोकिएको भन्दै सांसद आलमले मुद्दाको फैसल गरेका न्यायधीश शर्मालाई अभद्र व्यवहार गरेकी थिइन्। 


आलमको हत्या अभियोग लागेका रामचन्द्र प्यासी कुश्वाहा,बिपिन्न यादव भन्ने महम्द फैद,अतिक खान र राजु श्रीवास्तवलाई मुलुकी ऐनको ज्यानसम्बन्धी महलको १६ नम्बरअनुसार चारै जनालाई जनही १०/१० वर्ष कैद सजायको फैसला गरिएको अदालतका निमित्त स्रेस्तेदार सुदिप भट्टराईले बताए।


आलमलाई गोली प्रहार गर्ने अर्का मनोज पाण्डे भन्ने राजेश मिश्रालाई ज्यानसम्बन्धी महलको १३,४ बमोजिम जन्मकैद सजाय हुने फैसला समेत इजलास नम्बर एकबाटै भएको स्रेस्तेदार भट्टराईले बताए।

साभारः नागरिक अनलाइन