सिएनएन हिरो म्यागीले सञ्चालन गरेको वालगृह अवैध


प्रकाश पन्त /उज्यालो । सुर्खेत, फागुन १६ – सिएनएन हिरो घोषित अमेरिकन नागरिक म्यागी डोयनले सञ्चालन गरेको बाल गृह अवैधानिक भएको रहस्य खुलेको छ । टुहुरा बालबालिकालाई राखिएको भनिएको बाल गृह सञ्चालनका लागि कुनै निकायबाट स्वीकृति लिइएको छैन । पटक—पटक विवादमा परेको कोपिला भ्याली सेवा समाजले सञ्चालन गरेको बाल गृहमा महिला तथा बालबालिका कार्यालय सुर्खेतले गरेको अनुगमनका क्रममा बाल गृह नै दर्ता नभएको पाइएको महिला विकास प्रमुख जमुना पौडेलले जानकारी दिनुभयो । 
‘अनुगमनका क्रममा दर्ता नभएको पाइयो, दर्ताका लागि कार्यालयमा निवेदन पेश गरिएको देखिन्छ तर हालसम्म स्वीकृति लिएको छैन’ महिला विकास प्रमुख पौडेलले भन्नुभयो ‘टुहुरा बालबालिकाको विषयमा पनि गम्भिरतापूर्वक छानविन भैरहेको छ ।’ 
जिल्ला वाल कल्याण समितिले गरेको स्थलगत अवलोकनका क्रममा बाल गृहमा बाबुआमा नभएका ३ जना बालवालिका मात्रै भेटिएको छ । त्यसैगरी आमा भएका १५, बाबु मात्रै भएका १३, बाबुआमाले छोडेका ३ र बाबुआमा बारे थाहै नभएका २ जना बालवालिका रहेको रेकर्डमा उल्लेख गरिएको छ । बाल गृहमा कोपिला भ्याली सेवा समाजका अध्यक्ष टोपबहादुर मल्लका आफन्त मात्रै ३१ जना रहेको स्रोतले जानकारी दिएको छ । गृहमा रहेको ४९ जना बालबालिका मध्ये ३१ जना अध्यक्षकै जिल्लाका आफन्त र नेता तथा हुने खानेका छोरा-छोरी रहेको स्रोतले जानकारी दिएको छ । ३ जना दैलेखका, दलित वर्गका ९ र अन्य ठकुरी समुदायका २४ जना बालबालिका रहेको बाल कल्याणको रेकर्डमा उल्लेखे छ ।
स्रोतका अनुसार म्यागीले सिएनएन हिरोका लागि बुझाएको तथ्याङ्क र बाल कल्याण समिति, जिल्ला शिक्षा कार्यालय, प्रेस काउन्सिल र एसओएस बालग्रामको अध्ययन प्रतिवेदनमा बुझाएको बालबालिकाको तथ्यांक समेत फरक-फरक देखिएको छ ।सेवा समाजको मिति २०७१/११/८ गते को विशेष साधारणसभाबाट बाल गृह सञ्चालनका लागि संस्थाको विधान संशोधन गर्ने निर्णय गरेको थियो ।  विधानको बुँदा (क) मा बालगृह सञ्चालन गर्न पाउने कुरा थपिदिन जिल्ला प्रशासन कार्यालय सुर्खेतमा मिति २०७१/११/११ गते निवेदन दर्ता गरिएको थियो ।
विधान संशोधन फाइलमा मिति २०७१/१२/२९ गते प्रमुख जिल्ला अधिकारीले महिला तथा बालबालिका कार्यालयको सिफारिससहित पेश गर्न आदेश दिएका थिए । बाल गृह सञ्चालन मापदण्ड २०६९ को एकाइ ६ को उपसमूह ६४ को (ग) मा बाल गृह सञ्चालन गर्नुपूर्व बाल कल्याण समिति र महिला तथा बालबालिका कार्यालयबाट स्वीकृति लिनुपर्ने प्रावधान रहेको छ ।
स्थलगत अध्ययन गरेर मात्रै सिफारिस गर्न सकिने भन्दै बाल कल्याणले सिफारिस नदिएपछि स्वीकृति कार्य रोकिएको छ । भूकम्पपछि गृहमन्त्रालयले बाल गृहहरुलाई स्वीकृति नदिने परिपत्र पठाएपछि कोपिला भ्यालीको बाल गृहलाई स्वीकृति दिन नसकिएको बाल अधिकार अधिकृत रमादेवी भण्डारीले जानकारी दिनुभयो । अध्यक्ष मल्लका भाई गगन मल्लका मात्रै पाँच जना छोरा—छोरीले बालगृहमा बसेर निःशुल्क अध्ययन गरिरहेका छन् भने उनकै नातेदार तथा पूर्व लडाकू रमेश मल्ल (युनाइटेड) का छोरा—छोरीले पनि निःशुल्क अध्ययन गरिरहेका छन् ।
बालगृहले नर्सरीदेखि उच्च माविसम्म निःशुल्क शिक्षा, खाना, स्वास्थ्य तथा शैक्षिक सामाग्रीदेखि उच्च शिक्षा अध्ययन गर्ने सम्मको सहयोग उपलब्ध गराउने गरेको छ । 

कार्यसमितिमा नातेदार र आफन्त 

अध्यक्ष टोपबहादुर मल्लका नातेदार, आफन्तहरु राखेर कोपिला भ्यालीको ७ सदस्यीय कार्यसमिति गठन गरिएको छ । सेवामूलक सामाजिक संघ संस्थामा आउने विदेशी सहयोगमा अनियमितता नहोस भनेर सरकारी नीतिमा एकाघरका सदस्य एउटै संस्थाको कार्यसमिति तथा महत्वपूर्ण पदमा बस्न नपाइने व्यवस्था छ ।  तर सरकारी नीतिको समेत अवज्ञा गर्दै एकाघरका दाजुभाईले कोपिला भ्याली सेवा समाज संस्था अपारदर्शी रुपमा सञ्चालन गरिरहेको अभिभावकले आरोप लगाएका छन् ।
कार्यसमितिका सबै सामान्य साक्षर हुन । उनीहरुलाई बुझ्दा संस्थाको बारेमा आफूलाई कुनै जानकारी नभएको बताएका छन् । ‘संस्थाको बैठकमा कहिले काही हामीलाई बोलाउँछन् । के के गर्छन हामीलाई केही थाहा छैन । यो संस्था टुहुरा बालबालिका पढाउने संस्था हो भनेर म बसेको छु’ एक सदस्यले नाम उल्लेख नगर्ने सर्तमा भने ‘जग्गा खरिद गरेको विषयमा पनि हामीलाई केही थाहा छैन । कति प¥यो, बाहिरबाट कति रकम आउँछ ? कति खर्च हुन्छ । केही थाहा छैन ।’ सन् २०१५ मा सिएनए हिरो बनेकी अमेरिकी नागरिक म्यागी डोयनमार्फत अमेरिकाको विलिनाओ संस्थाले कोपिला भ्यालीलाई बार्षिक करोडौं रकम सहयोग गर्दै आएको छ ।
संस्थाले जिल्ला प्रशासन कार्यालय सुर्खेतमा बुझाएको रेकर्ड अनुसार आ.व. २०७१/०७२ को आम्दानीमा ९ करोड ४४ लाख ४७ हजार ८ सय ७८ रुपैयाँ ३५ पैसा उल्लेख गरिएको छ । कुन निकायबाट यति ठुलो रकम ल्याईएको हो त्यसको स्रोत उल्लेख गरिएको छैन् । बुझाईएको विवरणमा कार्यसमितिको भत्ता, राजनीतिक दललाई आर्थिक सहयोग, जग्गा खरिद, विद्यालय कार्यक्रम खर्च, भवन मर्मत, जग्गा खरिद, वीमा, गाडी मर्मतमा अस्वभाविक रुपमा लाखौं रकम खर्च गरेको लेखापरिक्षण प्रतिवेदन जिप्रकामा बुझाईएको छ । 
कोपिला भ्यालीले सञ्चालन गर्दै आएको विद्यालयका प्रिन्सिपल नइम चौधरीका अनुसार विद्यालयमा नर्सरीदेखि कक्षा—१० सम्म ३५० जना विद्यार्थीहरुले निःशुल्क शिक्षा, स्वास्थ्य, शैक्षिक सामग्री र विहानको खाना समेत पाईरहेको जानकारी दिनुभयो । संस्थाले संचालन गरेको बाल गृहमा मात्रै ५० जना बालबालिकाहरु रहेको उहाँले जानकारी दिनुभयो । बुवा, आमा नभएका, शिक्षाबाट बञ्चित बालबालिकाहरुले निःशुल्क शिक्षा पाईरहेको प्रिन्सिपल चौधरीले दावी गर्नुभयो । 
साभारः उज्यालो अनलाइन