सरकारले लकडाउन खुकुलो बनायो, सार्वजनिक सवारी भने बन्द


२९ जेठ, सुर्खेत । सरकारले लकडाउनलाई ८० दिनमा केही खुकुलो बनाउँदै उद्योग, व्यापार, व्यवसाय, पसल र डिपार्टमेन्ट स्टोर खुला गर्ने निर्णय गरेको छ ।

बुधबार बसेको मन्त्रिपरिषद बैठकले सबै उद्योग, व्यापार व्यवसाय पसल र डिपार्टमेन्ट स्टोर खुला गर्ने निर्णय गरेको हो । त्यस्तै बैठकले मोटरसाइकल चलाउन दिने भएको छ । तर मोटरसाइकलमा एक जनाभन्दा धेरै चढ्न नपाइने निर्णय गरेको छ भने सबै प्रकारका पैदल आवागमन, साइकल र मोटरसाइकल चल्न दिने तथा सबै प्रकारका ढुवानी पनि खुला गरिएको छ ।

होटल र नाइट क्लब भने खोल्न पाइने छैन तर प्याकिङ र टेक अवे सेवा दिने गरी रेस्टुरेन्ट भने खुला गर्न दिइने बताइएको छ भने सपिङ्ग मल खुला गर्न नपाइने भएको छ ।

त्यस्तै सरकारी तथा निजी कार्यालय र बै‌ंक, वित्तीय संस्थाका  कार्यालय दुई सिफ्टमा सञ्चालन गर्ने भएको छ । असार १ गतेदेखि सबै सरकारी, निजी र बैंक तथा वित्तीय संस्थाका कार्यालय विहान ८ बजेदेखि १ बजेसम्म र १ बजेदेखि बेलुका ६ बजेसम्म सञ्चालन हुनेछन् । कोभिड १९ को रोकथाम र महामारी नियन्त्रण गर्न यस्तो नियम लागु गरेको बताइएको छ ।

यस्तै सरकारले केही क्षेत्रलाई सञ्चालनमा रोक लगाएको छ ।

१. शैक्षिक संस्थाहरु (यसभित्र विद्यालय, कलेज, ट्युसन सेन्टर र तालिम केन्द्रहरु)

२. अनुमति प्राप्त बाहेकका अन्तरराष्ट्रिय र आन्तरिक उडानहरु ।

३. तोकिए बाहेकका अन्तरराष्ट्रिय सीमा नाकाबाट हुने आवत–जावत

४. सबै प्रकारका सभा, गोष्ठी, तालिम, सेमिनार ।

५. सबै प्रकारका प्रदर्शन, भेला तथा सम्मेलन ।

६. सिनेमा हल, पार्टी प्यालेस, डान्सबार लगायतका मनोरञ्जनस्थल

७. सार्वजनिक पुस्तकालय, संग्रहालय, चिनियाखाना ।

८. स्पा, सैलुन र ब्यूटीपार्लर

१०. स्विमिङ पुल, जिमखाना लगायतका हेल्थ क्लबहरु

११. सपिङ मलहरु

१२. समूहमा खेलिने खेलमुद र खेल मैदानमा हुने प्रस्तुतीहरु

१३. सबै प्रकारका धार्मिक तथा सामाजिक स्थलहरु

१४. यात्रुबाहक सार्वजनिक सवारी साधन । पर्यटक सवारी साधनसमेत ।

यसैवीच सुर्खेतका प्रमुख जिल्ला अधिकारी हिरालाल रेग्मीले गृह मन्त्रालयले परिपत्र जारी नगरे सम्मकालागि भने पुरानै नियम लागु हुने बताउनुभयो । उहाँले भन्नुभयो “मिडियामा सरकारका निर्णयहरु सार्वजनिक त भैसकेका छन् तर हामीलाई परिपत्र आइपुगेको छैन । यसबारे परिपत्र आएपछि हामी त्यही अनुसार कार्यान्वय गराउँछौ । ”