किसानलाई भैसी वितरण


१४ असार, सुर्खेत । पशुपन्छी विकास निर्देशनालय कर्णाली प्रदेशले किसानलाई ६५ लाख बढी रकम बराबरको ५० वटा भैसी वितरण गरेको छ ।

जिल्लाको बराहताल गाउँपालिका वडा नम्बर ५ सुन्दरी गाउँका ४१ जना किसानलाई निर्देशनालयले आइतबार एक राँगो सहित २६ र केहीदिनअघि २५ वटा भैसी वितरण गरेको हो ।

निर्देशनालयका निमित्त निर्देशक खड्कबहादुर सिंजाली, अधिकृत मोहन गिरी लगायतको उपस्थितिमा आज आइतबार किसानहरुलाइ भैसी वितरण गरिएको हो । दुग्धजन्य पदार्थको उत्पादनमा वृद्धि गरी व्यवसायिक किसानको जीवनस्तरमा सुधार ल्याउने उद्देश्यले भैंसी वितरण गरिएको निर्देशनालयका अधिकृत गिरीले जानकारी दिनुभयो । उहाँका अनुसार निर्देशनालयले ४७ लाख ५० हजार र बाँकी किसानको गरि ६५ लाख बढी लगानीमा भैंसी खरिद गरेर वितरण गरिएको हो ।

एक भैसीको मूल्य १ लाख ३० हजार जति परेको सुन्दरी दुग्ध उत्पादन तथा वितरण कृषक समूहका अध्यक्ष रत्नलाल सुवेदीले बताउनुभयो । निर्देशनालयले गतबर्षपनि किसानलाई भैसी वितरण गरेको थियो । सुन्दरी गाउँका प्रत्येक किसानले उत्पादन गरेको दुध वीरेन्द्रनगरका डेरी उद्योगहरुले खरिद गर्ने गरेका छन् ।