वीरेन्द्रनगर सुर्खेतका बजार बन्द


२९ असार, सुर्खेत । सुर्खेत उद्योग बाणिज्य संघको आह्वानमा आज कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगर बजार बन्द भएको छ ।

संघले व्यावसायीहरुले कोभिड १९ को यो समयमा करोडौको लगानीलाई जोखिममा मोलेर सरकारलाई साथ दिँदादिँदै पनि सरकारले व्यावसायीहरुको धर्यता र सहनशिलतालाई नजरअन्दाज गरिदिए पछि बाध्य भइ आन्दोलन गरेको जनाएको छ ।

विरोध सभामा नेपाल उद्योग बाणिज्य महासंघ कर्णाली प्रदेशका अध्यक्ष पदमबहादुर शाहीले कोभिड १९ले गर्दा थला परेका व्यवसायीहरुलाई विभिन्न बैंकबाट व्याज तिर्न आइरहेका दवावहरुले तनाव दिएको बताउनुभयो । उहाँले भन्नुभयो “हामीले व्याज नै नतिर्ने भनेका हैनौ तर समय साक्षेप अनुसार चल्न अनुरोध गरेका हौ । यदी सरकारले हाम्रो आग्रहरुलाई सुनेन भने कडा भन्दा कडा आन्दोलन गरेर सरकारलाई घुडा टेकाउन बाध्य बनाउने छौं ।”

त्यस्तै देउती नागरिक यातायात प्रा.लि.का अध्यक्ष कमल खड्काले कोभिड १९ले थलिएको यातायात व्यावसायीहरु‍ बैंकबाट आइरहेका फोनहरुबाट मर्नु न बाच्नुको दोधारमा परेको बताउनुभयो । उहाँ भन्नुहुन्छ “यस्तै हो भने अब गाडी चाबी हामीले सरकारलाई बुझाउनुको विकल्प छैन ।”

होटल व्यावसायी महासंघका केन्द्रिय सदस्य जनक सिंह ठकुरीले कोभिड १९ को संक्रमणकालिन अवस्थामा सबैभन्दा होटल व्यावसायी मारमा परेको बताउनुभयो ।