
हरि कृष्ण कुमाई
जुम्ला, पुस २६,
करिब २ साताभन्दा बढी समयदेखि जाजरकोटको पश्चिमी जुनुचाँदे गाउँपालिकाका विभिन्न गाउँमा फैलिएको भाइरल ज्वरोको प्रकोप नियन्त्रणमा आउन नसके पछि कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लाबाट विशेषज्ञ सहितको टोली खटिएको छ ।
कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लाले बाल रोग विशेषज्ञ डा. नम्रता सिन्दान र मेडिकल अधिकृत सुर्य चौधरीलाई महामारी प्रभावित क्षेत्रमा खटाएको हो । क्षेत्रिय स्वास्थ्य निर्देशनालय सुर्खेत र जिल्ला स्वास्थ्य कार्यालय जाजरकोटको आग्रहमा चिकित्सकको टोली खटाइएको अस्पताल निर्देशक धर्मराज गोसाईले जानकारी दिए । उनका अनुसार टोली आजै जाजरकोट प्रस्थान गरिसकेको छ ।
टोली करिब २ हप्ता प्रभावित क्षेत्रमा बस्ने गरि खटाएका छौ, अस्पताल निर्देशक धर्मराज गोर्साईले भने, प्रकोप नियन्त्रण नहुन्जेल सम्म फर्कने छैनन । पछिल्लो समयमा कर्णालीले रोग प्रभावित क्षेत्रमा चिकित्सक पठाउन थालेको हो । कर्णाली रोग, भोग, र अभावको सिकार मानिन्थ्यो, उनले भने, अहिले दक्ष विशेषज्ञ चिकित्सक पठाउने थलो वनेकोमा स्थानीय खुुसी छन् ।
कर्णाली देखि खटिएको टोली जिल्ला स्वास्थ्य कार्यालय जाजरकोटको सम्पर्कमा जाने र जता आवश्यक पर्यो उतै खटिएर विरामीको उपचारमा लाग्ने प्रतिष्ठानले जनाएको छ । यो संगै कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लाले कर्णालीको मुगु र कालिकोटमा विशेषज्ञ सेवा शुरु गर्ने भएको छ । कालिकोटमा महिनाको २ पटक र मुगुमा महिनामा एक पटक विशेषज्ञ टोलीले विरामीको चेकजाँच र औषधी उपचार गर्ने निर्णय भएको अस्पताल निर्देशक गोर्साईले जानकारी दिए ।



Prawash Kumar Shakya । २६ पुष २०७४, बुधबार १४:४६ बजे