
४ भदौ, सुर्खेत । कर्णाली प्रदेश सरकारले प्रदेशका मन्त्रालय र मातहतका कार्यालयहरुमा कर्णाली प्रदेश स्थापना आन्दोलनका क्रममा ज्यान गुमाएका ४ जनाको तस्वीर राख्ने भएको छ । कर्णाली प्रदेशको ९औं स्थापना दिवसको अवसरमा यस्तो निर्णय गरेको प्रदेश सरकारले जनाएको छ । साथै मन्त्रिपरिषद्ले शहिदहरुको परिवारका १/१ जनालाई रोजगार उपलब्ध गराउनेसमेत निर्णय गरेको छ ।
देश संघीय संरचनामा गएपछि ६ प्रदेश बनाएको थियो जस्का विरुद्ध सुर्खेतमा छुट्टै प्रदेशको माग राख्दै आन्दोलन भएको थियो जुन आन्दोलनमा सुर्खेतका गोपालसिंह रजवार, टीकाराम गौतम, यामबहादुर बिसी र जुम्लामा हरिबहादुर कुँवरले ज्यान गुमाउनुभएको थियो । प्रदेशको ९औं स्थापना दिवसको र्रयालीले आज (बुधवार) बिहान वीरेन्द्रनगरको मंगलगढी चोकबाट ब्यानर प्लेकार्ड, ब्यान्ड बाजासहित प्रभातफेरि गरेको थियो ।
प्रभातफेरि पछि आयोजित कार्यक्रममा प्रदेश प्रमुख यज्ञराज जोशीले शहिद र जनताका सपना कति सम्म पूरा गरियो भनेर समिक्षा गर्नुपर्ने वेला र बलिदानबाट प्राप्त प्रदेशको विकास र समृद्धिका बारेमा समिक्षा गर्नुपर्ने बताउनुभयो ।
यस्तै मुख्यमन्त्री यामलाल कँडेले प्रदेश सरकारले प्रदेश स्थापनाका आन्दोलनमा शहिद हुनुभएका शहिदहरुको तस्वीरलाई कार्यालयमा राख्ने निर्णय लागु गर्नु अनुरोध गर्नुभयो ।



Prawash Kumar Shakya । ४ भाद्र २०८१, मंगलवार १५:२६ बजे